Premier Cables
Premier Steel

अन्य

जेनजीबाट मूलधारको राजनीति: सम्भावना र चुनौती

दिपेन्द्र यादव Calendar मंगलबार, भाद्र ३१, २०८२  | बिहान १०:३६ बजे

नेपालले दशकौंयताकै सबैभन्दा हिंसात्मक घटना २०८२ भदौ २३ गते देखियो, जब युवाहरूले सरकारद्वारा युट्युब, फेसबुक, एक्स र इन्स्टाग्रामसहित २६ वटा सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्ध साथै भ्रष्टाचार र कुशासनविरुद्ध जेन-जीहरुले प्रतिरोध गरे।

यस प्रतिरोधक‍ो फलस्वरूप हालसम्म ७० जना बढिको मृत्यु भइसकेको छ र हजारौं घाइते भएका छन् । दोस्रो दिन अर्थात भदौ २४ गते काठमाडौंसहित विभिन्न शहरमा भएको प्रदर्शनका कारण तीन पटकसम्म प्रधानमन्त्री भइसकेका केपी शर्मा ओलीले राजीनामा दिनुपर्‍यो। राजनीतिक दलका नेताहरूलाई समेत आक्रोशित जनताले आक्रमण र तोडफोड गरे ।

बिज्ञापन

प्रतिनिधि सभा, राष्ट्रिय सभा र धेरै सरकारी मन्त्रालयहरु भएको सिंहदरबारमा आगलागी भयो साथसाथै विभिन्न महत्वपुर्ण कार्यालयहरु ( सर्वोच्च अदालत, मालपोत, जि.प्र.का., प्रादेशिक कार्यालय, स्थानीय तहका कार्यालय ) मा आगजनी हुनुका साथै महत्त्वपूर्ण सरकारी कागजातहरु नष्ट भए । आगजनी र तोडफोडका कारण नेपालले अर्बौंको क्षति व्यहोर्नु पर्यो । वर्तमान विषम परिस्थितिलाई मध्यनजर गर्दै सोही दिन साँझ, प्रधान सेनापति, अशोकराज सिग्देलले आन्दोलनरत समूहलाई वार्ताका लागि आह्वान गरेका थिए । र सेनाले शान्ति सुरक्षाको सम्पुर्ण जिम्मेवारी लिए ।

त्यसलगत्तै अर्को दिन ( भदौ २५ ), प्रदर्शनकारीहरूले (जेन-जी) अन्तरिम नेता चयन गर्नका लागि अनलाइन छलफल गरेका थिए । उक्त छलफलपछि सुशीला कार्कीलाई चयन गर्ने आन्तरिक सहमति जुटेको थियो । त्यसपछि भदौ २७ गते, सुशीला कार्कीले अन्तरिम प्रधानमन्त्रीको रूपमा शपथ ग्रहण गरिन् । उनकै सिफारिसमा प्रतिनिधि सभा विघटन भयो र उक्त अन्तरिम सरकारले ६ महिना भित्र प्रतिनिधि सभाको निर्वाचन गर्ने कार्यभार दिइयो ।

जेन–जीको दुई दिनको प्रतिरोधात्मक आन्दोलनले नेपालका पुराना राजनीतिक दलहरूलाई नयाँ पाठ सिकाएको छ । यो अवस्थाबाट पुराना राजनीतिक दलहरूले ज्ञान लिएर आफूलाई पुनर्गठित गर्छन् या पुरानै ढर्राले चल्छन्, यो भविष्यले बताउनेछ । मुलुकमा दशकौंदेखि व्याप्त रहेको भ्रष्टाचार, बेरोजगारी, कुशासन विरुद्ध जेन–जीले गरेको आन्दोलन अन्ततः सफलताको चरणमा पुगेको छ , जसको फलस्वरूप प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार अपदस्थ हुन गयो । सामाजिक सञ्जाल प्रतिबन्धपछि आक्रोशित भई सुरु भएको विरोध प्रदर्शन भ्रष्टाचारको अन्त्य, अन्तरिम सरकार गठन गर्ने र नयाँ निर्वाचन गर्ने जस्ता विषय र घटनासम्म पुग्यो ।

जेन-जीले पुराना अर्थात दशकौंदेखि राजनीतिमा रजगज जमाएका राजनीतिक दल र नेताहरूलाई चुनौती दिए पनि अब जेन-जीले सावधानी अपनाउनुपर्ने हुन्छ । यश लेखमा हामी अब जेन-जी सामु देखिएका केहीले सम्भावना र चुनौतीहरुका बारेमा चर्चा गर्ने छौँ । अब जेन-जीले आफ्नो लक्ष्य स्पष्ट गरि सकेसम्म उत्कृष्ट कार्य सम्पादन गर्न तर्फ ध्यान केन्द्रित गर्नुपर्छ । आफ्ना जायज र सान्दर्भिक मागलाई पुरा गर्ने तर्फ ध्यान केन्द्रित गर्नुपर्छ । लोकतन्त्र, कानुनी शासन साथै सामाजिक न्यायसँग सम्बन्धित विषयहरुलाई गम्भीरतापूर्वक व्यक्त गर्नुपर्ने हुन्छ ।

वर्तमान जागरुकतालाई संगठित रुपमा रूपान्तरण गर्नु जेन–जीको लागि चुनौतीपूर्ण हुने देखिन्छ । जेन–जीहरूबीच शासन प्रणालीका केही आधारभूत मतभेदहरू छन्। यसले विगतको राजनीतिक मतभेदलाई पुनः सिर्जना गर्न सक्ने खतरा छ । विचारहरूमा एकता, समन्वयात्मक संगठन र लक्ष्यहरू प्राप्त गर्ने उचित उद्देश्य अहिलेको आवश्यकता हो जुन अलि गाह्रो हुन सक्छ तर यो अति आवश्यक हो । यो क्रान्ति पुनः प्रतिक्रान्तिमा समेत परिणत हुन सक्छ भन्नेमा जेन–जीहरू सतर्क हुनुपर्ने देखिन्छ ।

सम्भावनाहरू

जेन-जीले डिस्कर्ड र अन्य अनलाइन प्लेटफर्ममार्फत तत्काल निर्णय लिन सक्ने क्षमता देखाएको छ, जस्तै अन्तरिम प्रधानमन्त्रीको रुपमा सुशीला कार्कीको चयन। सामाजिक सञ्जालको प्रयोगले लाखौं युवालाई एकजुट गर्न सकिन्छ, जसले पुराना दलहरूको एकाधिकार तोड्न सक्छ। जस्तै “नेपो किड्स” र “नेपो बेविज” विरुद्धको अभियानले युवा आक्रोशलाई एकजुट गरि शासन प्रणाली सुधार तर्फ अग्रसर गरायो । जेन- जीले यो सम्भावनाको भरपुर सदुपयोग गर्नुपर्ने हुन्छ ।

यो प्रतिरोधको फलस्वरूप अगामि फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनमा युवा वर्गले बाजि जित्दै कानुन बनाउने थलोमा आफ्नो सक्रिय सहभागीता सुनिश्चित गर्न सक्छन् । र यो पुस्ताले पारदर्शी र समावेशी नीति ल्याएर नेपालको राजनीतिलाई प्रगतिशील बनाउन सक्छन् ।

सामाजिक न्यायको अवसर

जेन-जीले असमानता, विभेद, अन्याय, अत्याचार र सामाजिक न्यायको मुद्दालाई जोड दिएको छ। यो पुस्ताले सबै किसिमका भ्रष्टाचार, अन्याय, अत्याचार र सामाजिक विभेद निर्मुल गर्न अग्रणी भुमिका निर्वाह गर्न सक्छन् ।

अर्को महत्वपूर्ण सम्भावना भनेको शासन प्रणालीमा आवश्यकताबमोजिम सुधार गर्न सक्नु हो । अगामि निर्वाचनमा उनीहरूले राम्रो मत ल्याएको खण्डमा संविधानमा रहेका कमीकमजोरीहरु लाई संशोधन गर्न सक्छन् । जसले गर्दा, शासन प्रणालीमा देखिएका कमीकमजोरीहरु लाई कम गर्न सकिन्छ । जस्तै : पछिल्लो समय प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र राष्ट्रपति हुनुपर्ने माग बढिरहेको छ।

जेन-जी सामु चुनौती

जेन-जी हरुमा समन्वयात्मक संगठन र एकताको कमी छरपस्ट देखिन्छ । डिजिटल प्लेटफर्मले तत्काल छलफल सम्भव बनाए पनि, दीर्घकालीन संगठन र नेतृत्व निर्माण गाह्रो कुरा हो । पुराना दलहरूले यो कमजोरीको फाइदा उठाउन सक्छन्।

जेन-जीको जोश भए पनि, राजनीति र कुटनैतिक व्यवस्थापनमा अनुभवको कमी छ। अन्तरिम सरकारमार्फत अहिलेका लागि जेन-जीले आफ्ना मुद्दाहरु कसरी उत्थान गर्छ भन्ने कुरा हेर्न बाँकी नै छ।

बेरोजगारी, गरिबी र विदेश पलायन जस्ता मुद्दा समाधान गर्न ठूलो लगानी र नीतिगत सुधार चाहिन्छ। अन्तरिम सरकारलाई सेना र पुराना दलहरूको प्रभावमा काम गर्नुपर्ने बाध्यता छ, जसले अहिलेको लागि सुधारमा अवरोध ल्याउन सक्छ।

यश प्रतिरोधलाई केही दलहरू, अवसरवादी समूह वा बाह्य शक्तिहरूले “हाइज्याक” गर्न सक्छन् वा आफू अनुकुल प्रयोग गर्न सक्छन् । सांगठनिक एकता कमजोर हुँदा पुनः प्रतिक्रान्तिको जोखिम रहन सक्छ ।

जेन-जीको आन्दोलनले नेपालको राजनीतिमा नयाँ सम्भावना खोलेको छ, तर सफलताका लागि एकता, रणनीतिक योजना र अनुभवको आवश्यकता छ। यो पुस्ताले आफ्नो जोशलाई संगठित शक्तिमा बदल्न सक्यो भने, नेपालमा सुशासन र समावेशी विकासको नयाँ युग सुरु हुन सक्छ। तर, मतभेद र बाह्य हस्तक्षेपले यो अवसर गुम्ने खतरा पनि उत्तिकै छ।

यो जेन-जीले अब आफ्ना मागलाई स्पष्ट गरी लोकतन्त्र, कानुनी शासन र सामाजिक न्यायमा केन्द्रित हुँदै दीर्घकालीन संगठन निर्माण गर्नुपर्छ, नत्र यो क्रान्ति प्रतिक्रान्तिमा परिणत हुन सक्छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka