Premier Cables
Premier Steel

अन्य

गगन थापाको आलोचना किन ? दायित्वको कुरा किन नगर्ने ?

जयप्रकाश आनन्द Hamro Biratnagar News Channel Calendar मंगलबार, फाल्गुण २६, २०८२  | अपराह्न १२:१७ बजे
Hamro Biratnagar Headlines

“जीतमा दुश्मन पनि मित्र हुन्छन् र पराजयमा मित्र पनि शत्रु बन्न जान्छन्।” राजनीति जस्तो कठोर क्षेत्रमा यो पुरानो भनाइ बारम्बार सत्य प्रमाणित हुँदै आएको छ। नेपालको हालको आम निर्वाचनले पनि यही यथार्थलाई फेरि उजागर गरेको छ। यस परिणामपछि नेपाली काँग्रेसका सभापति गगन थापाको अवस्था ठीक यही उक्ति सम्झाउने खालको देखिन्छ—जहाँ पराजयपछि आलोचना, आरोप र दोषारोपणको आँधी चल्न थाल्छ।

तर यथार्थलाई ईमानदारीपूर्वक हेर्ने हो भने गगन थापाले सबल र सुदृढ पार्टी संगठनको विरासत पाएर नेतृत्व सम्हालेका थिएनन्। बरु उनले पार्टीभित्रको गहिरो असन्तोष र विद्रोहको वातावरण पार गर्दै नेतृत्वमा पुग्नुपरेको थियो। बहुसंख्यक प्रतिनिधिहरूको सहभागितामा आयोजित विशेष अधिवेशनबाट उनी सभापति बनेका थिए। यस अर्थमा उनको उदय सहज उत्तराधिकार होइन, संघर्षबाट जन्मिएको नेतृत्व थियो।

तर त्यसलाई पनि सहज हुन दिइएन। चुनावको नामांकन भैरहदाँको बेला शेरबहादुर देउवाले गगन थापाको सभापतित्वलाई चुनौती दिँदै अदालतमा मुद्दा दायर गरे र निर्वाचन आयोगसमक्ष पनि आपत्ति जनाए। आयोगले प्रारम्भिक रूपमा गगनको पक्षमा अन्तरिम आदेश दिए पनि अदालतमा मुद्दा विचाराधीन नै रह्यो। यसले जन्माएको अनिश्चितताको परिणामतः नयाँ नेतृत्वको वैधानिकतामाथि प्रश्नचिह्न खडा गरियो। यसले एउटा स्पष्ट सन्देश दियो—पार्टीभित्रको पुरानो शक्ति संरचना परिवर्तन स्वीकार गर्न देउवा पक्ष कदापि पनि तयार छैन। यस प्रकरणले गगन थापाले बनाएको आश लाग्दो भाष्य—“हामीले काँग्रेस बदल्यौं, अब मुलुक बदल्छौं” को बिश्वसनीयता कायम हुन दिएन।

नयाँ सभापतिले प्रारम्भदेखि नै असहज वातावरणमा काम गर्नुपर्‍यो। केही समय उनले पार्टीको अनधिकृत कार्यालयबाट काम सञ्चालन गर्नुपर्‍यो। पछि मात्र उनी पार्टीको आधिकारिक कुर्सीमा बस्न पाए। यस्तो अवस्थामा संगठन सुदृढ बनाउने, जनतामाझ विश्वास पुनःस्थापित गर्ने र चुनावी तयारी गर्ने काम सहज हुने कुरा थिएन।

यद्यपि पार्टी एकताको सन्देश दिन गगन थापाले देउवा पक्षका धेरै व्यक्तिहरूलाई पनि उम्मेदवार बनाए। तर परिणाम के आयो? ती सबैजसो उम्मेदवार पराजित भए। अझ चुनावको निर्णायक समयमा देउवा विदेश गए। उनका निकट मानिने व्यक्तिहरू पनि चुनावी अभियानमा सक्रिय देखिएनन्। आफ्नै पक्षका उम्मेदवारलाई जिताउन समेत उनीहरू अग्रसर देखिएनन्। यसले एउटा गम्भीर प्रश्न उठाउँछ—के यो केवल निष्क्रियता थियो, कि काँग्रेसको परिवर्तनप्रति नै अस्वीकारोक्ति वा निर्वाचनमा आफ्नै पार्टीका उम्मेदवारहरूलाई असहयोग?

यी सबै पृष्ठभूमिमा गगन थापा स्वयं पनि चुनावमा पराजित भए। यद्यपि यो पंक्ति लेख्दाको बखत गगनको परिणाम आई सकेको छैन, तर बिजयीको संभावना देखिन्न्। सतहमा हेर्दा यो पराजय व्यक्तिगत जस्तो देखिन्छ। तर गहिराइमा हेर्दा यो पराजय केवल एउटा व्यक्तिको होइन—यो काँग्रेसले वर्षौंदेखि बोकेको राजनीतिक बोझको परिणाम हो।

वास्तविकता के हो भने लामो समयसम्म पार्टी सञ्चालन गर्ने क्रममा देउवाको नेतृत्वले नेपाली काँग्रेसको राजनीतिक छवि गम्भीर रूपमा क्षतिग्रस्त बनाएको थियो। अवसरवाद, गुटबन्दी, सत्ताको गणितमा सीमित राजनीति, र जनतासँग टुटेको सम्बन्ध—यी सबैले काँग्रेसलाई जनविश्वासबाट टाढा पुर्‍यायो। यही कारणले आज काँग्रेसको पराजयलाई केवल गगन थापाको जिम्मामा थोपर्न खोज्नु राजनीतिक बेइमानी हुन्छ।

यसबीच अर्को महत्वपूर्ण राजनीतिक सन्देश पनि यस निर्वाचनले दिएको छ। यस पटकको निर्वाचनमा रास्वपा र यसको प्रमुख नेताहरू रवि तथा बालेनले ऐतिहासिक सफलता हासिल गरेका छन्। धेरै त्यस्ता मानिसहरू, जो नेपाली समाजमा पलाउँदै गएको परिवर्तनमुखी जनभावनासँग अनभिज्ञ थिए, उनीहरूका लागि यो परिणाम अप्रत्यासित लाग्न सक्छ। तर आम नागरिकका लागि भने यो कुनै चकित पार्ने घटना होइन। जनताले लामो समयदेखि पुराना दलहरूको जडता, सुधारप्रति उदासीनता, भ्रष्टाचार र सत्ता स्वार्थको राजनीति देख्दै आएका थिए। त्यसैले परिवर्तनको आकांक्षा अन्ततः मतदानमार्फत व्यक्त हुनु स्वाभाविक थियो।

यस परिप्रेक्ष्यमा केपी ओली जस्ता नेतृत्वको राजनीति पनि आलोचनाबाट मुक्त रहन सक्दैन। बिद्रोही जेन्जी नव युवाहरूको नृशंस हत्या, आक्रामक राष्ट्रवादको भाषण, सत्तामा हुँदा भ्रष्टाचार र शक्ति केन्द्रीकरण, अनि प्रतिपक्षमा हुँदा अस्थिरताको राजनीति—यी सबैले नेपाली जनतालाई निराश बनाएको थियो। यही कारणले अहिलेको परिणाम केवल काँग्रेसको पराजय मात्र होइन, पुरानो राजनीतिक शैलीको व्यापक अस्वीकार पनि हो। तर परिवर्तनको यो लहरले अर्को प्रश्न पनि खडा गरेको छ—अब नयाँ शक्तिहरू कसरी अगाडि बढ्छन्? रास्वपाको आगामी राजनीतिक व्यवहार, विशेषतः प्रस्तावित प्रधानमन्त्रीको रूपमा देखिएका बालेन शाहको दृष्टिकोण, धेरै अर्थमा महत्वपूर्ण हुनेछ।

लोकतन्त्रमा बलियो सरकारका लागि जिम्मेवार प्रतिपक्ष अपरिहार्य हुन्छ। रोचक कुरा के छ भने प्रायः बलियो सत्ता पक्षका लागि कमजोर प्रतिपक्षलाई औपचारिक रूपमा बढी सम्मान दिने चलन देखिन्छ—उसका कुरालाई सुन्ने, सहिष्णुता देखाउने, संवादको भाषा प्रयोग गर्ने। तर यसको अर्थ कदापि पनि पुरानो सत्ताको गलत कामको प्रतिरक्षा गर्नु होइन।

यदि विगतका भ्रष्टाचार, अपराधजन्य कार्यहरू र सत्ता दुरुपयोगलाई “सहिष्णुता” वा “राजनीतिक परिपक्वता” को नाममा ढाकछोप गरियो भने त्यो जनताको परिवर्तन चाहनाको प्रत्यक्ष अपमान हुनेछ।त्यस्तो व्यवहार नयाँ सत्ताले जनतासमक्ष गरेका वाचा र प्रतिबद्धताको विपरीत हुनेछ।

यसैले अहिलेको राजनीतिक क्षण उत्साहको मात्र होइन—परीक्षाको पनि हो। नयाँ सत्ताले विगतका गलत अभ्यासहरूसँग सम्झौता गर्छ कि वास्तवमै नयाँ राजनीतिक संस्कृतिको सुरुवात गर्छ—यो कुरा नेपाली जनताले धैर्यका साथ पर्खेर हेर्नुपर्नेछ। यस सबै परिप्रेक्ष्यमा गगन थापाको भूमिका अझ महत्वपूर्ण बनेको छ। अब उनको दायित्व केवल एउटा पराजित नेता बन्ने होइन। उनले जिम्मेवार, सशक्त र वैचारिक प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्छ। हिनताबोधबाट मुक्त हुनु परेको छ।

त्यसैगरी नेपाली काँग्रेसको पुनरोत्थान पनि अब अपरिहार्य आवश्यकता बनेको छ। यसको अर्थ केवल संगठन विस्तार होइन—पार्टीको चरित्र, नीति, नेतृत्व संस्कृति र जनतासँगको सम्बन्ध पुनर्निर्माण गर्नु हो।सबैभन्दा महत्वपूर्ण कुरा—अब काँग्रेस फेरि पुरानै चक्रमा फर्कन सक्दैन। यसका लागि विकल्प फेरि देउवा वा देउवाले अघि सारेका कुनै प्रतिनिधि हुन सक्दैनन्। त्यो भनेको विगतका असफलताको पुनरावृत्ति मात्र हुनेछ। आजको वास्तविकता स्पष्ट छ—पुरानो राजनीति अस्वीकार गरिएको छ।

अब प्रश्न एउटै छ: के नयाँ नेतृत्वले यो सन्देश बुझ्छ?यदि बुझ्यो भने अहिलेको पराजय नेपाली काँग्रेसको अन्त्य होइन—पुनर्जन्मको सुरुवात बन्न सक्छ। यदि बुझेन भने इतिहासले यसलाई परिवर्तनको अवसर गुमाएको क्षणका रूपमा सम्झिनेछ।

*** समाप्त ***
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka