स्थानीय चुनाव र नेतृत्वको वास्तविक पहिचानः नेता समाजिक सञ्जालमा होइन, जनताको माझमा जन्मिन्छ
स्थानीय चुनाव लोकतान्त्रिक अभ्यासको एउटा महत्त्वपूर्ण प्रक्रिया हो। यो केवल जनप्रतिनिधि चुन्ने अवसर मात्र होइन, समाजको विकास, जनताको सेवा र स्थानीय समस्याको समाधान गर्ने जिम्मेवारी कसलाई सुम्पिने भन्ने निर्णय गर्ने समय पनि हो।
चुनाव नजिकिँदै जाँदा गाउँ–टोलमा राजनीतिक गतिविधि बढ्छन्, सामाजिक सञ्जालमा बहस सुरु हुन्छन् र विभिन्न आकांक्षासहित नयाँ–पुराना अनुहारहरू जनताको माझमा देखिन थाल्छन्। तर यसैबीच एउटा गम्भीर प्रश्न उठ्छ—के नेता फेसबुक, मेसेन्जर ग्रुप, विभिन्न समाजिक सञ्जालबाट बन्छन्, वा सुख दुःख मा साथ दिने, समुदायको समस्या समाधानमा अग्रसर, उत्पीडित वर्ग समुदाय, विकासको मूल प्रवाहीकरणबाट कोशौँ टाढा रहेका समुदायलाई अग्रसर गराउन सक्षम, हुने खाने भन्दा हुँदा खानेको पक्षमा दृढताका उभिँदै आम जनताको विश्वास र सेवाबाट नेता बनिन्छ ?
आजको डिजिटल युगमा फेसबुक, मेसेन्जर र अन्य सामाजिक सञ्जाल विचार व्यक्त गर्ने, सूचना प्रवाह गर्ने र नागरिकसँग संवाद गर्ने प्रभावकारी माध्यम बनेका छन्। विश्वमै शक्तिशाली बनेको सामाजिक सञ्जाल सकारात्मक र नकारात्मक दुवै पाटा छन् । पछिल्लो समय नेपाल मात्र नभएर विश्व राजनीतिमा सामाजिक सञ्जालले ठूलो प्रभाव पारेको छ ।
अहिले नेपालको सन्दर्भमा विशेष गरि सामाजिक सञ्जालमा नकारात्मकता फैल्याउने, आफ्ना विरोधी र विपक्षीलाई तथानाम गाली गलौज गर्ने मात्र नभई जथाभावि टिका टिप्पणी गर्ने, व्यक्तिको चरित्र हत्या गर्ने अनि त्यति मात्र नभई गलतलाई पनि सत्य सावित गर्न अनेक हत्कण्डा अपनाउने प्रबृत्ति बढ्दो छ ।
दुःखका साथ भन्नुपर्छ यस कार्यमा सत्तासिन रास्वपाका नेता कार्यकर्ता अग्रपंक्तिमा छन् । यद्यपी अरु पार्टीका नेता कार्यकर्तामा पनि छ । यति लेख्दा ‘भेँडाहरु’ लाई अपाच्य हुनसक्छ । तर, समाजिक सञ्जाल हेर्ने हो भने सहजै पुष्टि हुन्छ ।
अहिले सामाजिक सञ्जाल हेर्ने हो भने हिन्दी उखान ‘चार आना की मूर्गी बाह्र आनाकी मसला’ भनेझैँ मौसमी समाजसेवीको बिगबीगि छ । अहिलेको सन्दर्भमा समाज र जनताका लागि केही गरेर भन्दा फेसबुक र समाजिक सञ्जालको प्रयोगबाट नेता बन्ने होडबाजी चलिरहेको छ । वर्षौँ देखि समाजमा योगदान गर्ने भन्दा समाजिक सञ्जालबाटै घर बसिबसि आफुलाई स्वघोषित ‘नेता’ जताततै देखिन्छ ।
सामाजिक सञ्जालमा सक्रिय हुनु र वास्तविक जीवनमा समाजका लागि सक्रिय हुनु एउटै कुरा होइन। फेसबुकमा लेखिएका स्टाटस, मेसेन्जरमा बनाइएका समूह र चुनावका बेला गरिएका प्रचारप्रसारले मात्रै कसैको नेतृत्व क्षमता प्रमाणित गर्दैनन्। नेतृत्वको वास्तविक परीक्षा त समाजमा देखिएको काम, जनताप्रतिको व्यवहार र कठिन समयमा निर्वाह गरिएको जिम्मेवारीबाट हुन्छ।
जनताको दुःख–सुखमा साथ दिनु नै नेतृत्वको आधार
नेता बन्न चाहने व्यक्तिले सबैभन्दा पहिले समाजलाई बुझ्नुपर्छ। गाउँ–टोलका समस्या के छन्, नागरिकले कस्ता कठिनाइ भोगिरहेका छन्, युवाले रोजगारी किन पाइरहेका छैनन्, किसानले उत्पादनको उचित मूल्य किन पाएका छैनन्, विपन्न परिवारले शिक्षा र स्वास्थ्यमा कस्ता चुनौती सामना गरिरहेका छन् भन्ने विषयमा चासो राख्नुपर्छ।
समाजमा कसैलाई विपत्ति पर्दा, कुनै परिवार आर्थिक सङ्कटमा पर्दा, बिरामीले उपचार नपाउँदा वा कुनै नागरिक सरकारी सेवा प्राप्त गर्न कठिनाइमा पर्दा सहयोगका लागि उपस्थित हुनु सामाजिक उत्तरदायित्व हो। यस्तो जिम्मेवारी चुनाव घोषणा भएपछि मात्रै सुरु हुने होइन। यो त निरन्तरता दिनुपर्ने मानवीय र सामाजिक दायित्व हो।
सामाजिक कार्यमा अग्रसर हुनु, स्थानीय विकासका गतिविधिमा सहभागी हुनु, युवालाई सकारात्मक काममा जोड्नु र समुदायका समस्याको समाधान खोज्नु नेतृत्वका महत्त्वपूर्ण आधार हुन्। जनताले कसैलाई नेता भनेर स्वीकार गर्नुको आधार उसको बोली मात्रै होइन, व्यवहार र कर्म पनि हो।
चुनावका बेला मात्रै जनताको घरदैलो किन?
स्थानीय चुनाव नजिकिँदा जनताको घरदैलोमा पुग्ने, हात मिलाउने, आत्मीयता देखाउने र विभिन्न आश्वासन दिने प्रवृत्ति सामान्यजस्तै बनेको छ। तर चुनाव सकिएपछि त्यही आत्मीयता र सक्रियता कायम रहन्छ कि रहँदैन भन्ने प्रश्न महत्त्वपूर्ण छ।
जनताले आफ्नो प्रतिनिधि चुनेपछि उसलाई खोज्न कठिन हुनु हुँदैन। नागरिकका समस्या सुन्न, गुनासा सम्बोधन गर्न र विकास निर्माणका कामको अवस्था बुझ्न जनप्रतिनिधि उपलब्ध हुनुपर्छ। चुनाव जित्नु भनेको जनतामाथि शासन गर्ने अधिकार प्राप्त गर्नु होइन, जनताप्रति उत्तरदायी हुने जिम्मेवारी स्वीकार गर्नु हो।
त्यसैगरी, चुनावमा पराजित भएका व्यक्तिले पनि समाजप्रतिको आफ्नो जिम्मेवारी समाप्त भएको ठान्नु हुँदैन। सामाजिक सेवा गर्न पद, बजेट वा औपचारिक जिम्मेवारी नै आवश्यक हुन्छ भन्ने छैन। इच्छाशक्ति, इमानदार प्रयास र सामूहिक सहकार्यबाट पनि समाजमा सकारात्मक परिवर्तन ल्याउन सकिन्छ।
चुनाव जिते पनि, हारे पनि जनताकै माझमा
वास्तविक नेतृत्वको पहिचान चुनावको परिणामले मात्रै निर्धारण गर्दैन। चुनाव जित्नु एउटा राजनीतिक सफलता हो भने चुनाव हार्नु लोकतान्त्रिक प्रतिस्पर्धाको अर्को परिणाम हो। दुवै अवस्थामा समाजप्रतिको जिम्मेवारी कायम रहनुपर्छ। चुनाव जितेका व्यक्तिले जनताले दिएको विश्वासको सम्मान गर्दै विकास, पारदर्शिता र जवाफदेहितालाई प्राथमिकता दिनुपर्छ। चुनाव हारेका व्यक्तिले पनि निराश भएर सामाजिक गतिविधिबाट टाढिनुभन्दा जनताको सेवामा निरन्तर योगदान दिन सक्नुपर्छ।
आज समाजलाई यस्तो राजनीतिक संस्कारको आवश्यकता छ, जहाँ व्यक्तिको परिचय पदले मात्र होइन, उसले गरेको कामले स्थापित होस्। जहाँ चुनाव जितेपछि मात्रै होइन, चुनावअघि र चुनावपछि पनि नागरिकसँगको सम्बन्ध समान रूपमा कायम रहोस्। जहाँ राजनीतिक प्रतिस्पर्धा व्यक्तिगत वैमनस्यको कारण नबनोस्, बरु समाजको विकासका लागि स्वस्थ प्रतिस्पर्धामा रूपान्तरण होस्।
स्थानीय चुनावमा नागरिकको भूमिका पनि उत्तिकै महत्त्वपूर्ण
राम्रो नेतृत्व निर्माण गर्ने जिम्मेवारी आकांक्षी व्यक्तिहरूको मात्रै होइन, मतदाताको पनि हो। मतदाताले उम्मेदवारको लोकप्रियता, सामाजिक सञ्जालमा देखिने सक्रियता वा चुनावी प्रचारप्रसारलाई मात्रै आधार बनाउनु हुँदैन। उम्मेदवारको विगतको काम, सामाजिक योगदान, सार्वजनिक व्यवहार, इमानदारी, स्थानीय समस्याबारेको बुझाइ र जनताप्रतिको उत्तरदायित्वलाई पनि मूल्याङ्कन गर्नुपर्छ।
कसले समाजका लागि कस्तो काम गरेको छ? कसले कठिन समयमा समुदायलाई साथ दिएको छ? कसले नागरिकका समस्या सुनेको छ? कसले सार्वजनिक स्रोतको सदुपयोग र पारदर्शितालाई महत्त्व दिन्छ? यस्ता प्रश्नले नेतृत्वको मूल्याङ्कनलाई अर्थपूर्ण बनाउन सक्छन्।
लोकतन्त्रमा फरक विचार, फरक राजनीतिक आस्था र फरक दलप्रतिको समर्थन स्वाभाविक हो। तर सामाजिक विकास र जनताको हितका विषयमा सहकार्य गर्ने संस्कार विकास गर्नु अझ महत्त्वपूर्ण छ। राजनीतिक विचार फरक हुँदैमा सामाजिक सम्बन्ध र मानवीय सहयोग कमजोर हुनु हुँदैन।
निष्कर्षः पदभन्दा ठूलो जनताको विश्वास
स्थानीय चुनाव केवल जित र हारको प्रतिस्पर्धा होइन। यो समाजको भविष्य कस्तो बनाउने भन्ने सामूहिक निर्णय हो। त्यसैले नेतृत्वको आकांक्षा राख्ने प्रत्येक व्यक्तिले आफूलाई एउटा प्रश्न गर्नुपर्छ—म जनताको मत लिन मात्रै उनीहरूको माझमा पुगेको हुँ, कि उनीहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सधैँ साथ रहने प्रतिबद्धता पनि राख्छु?
नेतृत्वको वास्तविक अर्थ जनताको विश्वास जित्नु, उनीहरूको आवाज सुन्नु, समस्या समाधानका लागि पहल गर्नु र जिम्मेवारीबाट पछि नहट्नु हो। सामाजिक सञ्जाल प्रचारको माध्यम हुन सक्छ, तर जनताको मन जित्ने आधार वास्तविक काम नै हो। नेता फेसबुक र मेसेन्जर ग्रुपले बनाउँदैन; नेता जनताको सेवा, सामाजिक योगदान, इमानदार व्यवहार र निरन्तर उपस्थितिले बन्छ।
चुनाव जितेपछि जनताबाट टाढिने र चुनाव हारेपछि समाजबाट हराउने प्रवृत्तिभन्दा माथि उठेर जनताको सुख–दुःखमा साथ दिने राजनीतिक संस्कार विकास गर्न सके मात्रै स्थानीय लोकतन्त्र बलियो बन्न सक्छ।
किनकि चुनाव केही दिनको हुन्छ, पद निश्चित अवधिका लागि हुन्छ, तर जनताप्रतिको जिम्मेवारी र विश्वासको महत्त्व दीर्घकालीन हुन्छ। अन्ततः जनताले सम्झिरहने कुरा कसले चुनाव जित्यो वा हा¥यो भन्ने मात्रै होइन, कसले उनीहरूको दुःखमा साथ दियो, कसले समाजका लागि काम ग¥यो र कसले आफ्नो उपस्थितिको अर्थ प्रमाणित ग¥यो भन्ने हो।
जनताको मत माग्ने नेता धेरै हुन सक्छन्, तर जनताको विश्वास जोगाइराख्ने नेतृत्व नै समाजको वास्तविक सम्पत्ति हो।
