काठमाडौं । लामो समयदेखि कार्यालयको सम्पर्कमा नरही गैरहाजिर रहेका १४ जना प्रहरी कर्मचारीलाई नेपाल प्रहरी प्रधान कार्यालयले सात दिनभित्र हाजिर हुन निर्देशन दिएको छ ।
प्रहरी महानिरीक्षकको सचिवालयअन्तर्गत कानून तथा मानव अधिकार महाशाखा (कानुन शाखा) ले बिहीबार सार्वजनिक सूचना जारी गर्दै उनीहरूलाई गैरहाजिर रहनुको कारणसहित कार्यालयमा उपस्थित हुन निर्देशन दिएको हो ।
प्रहरीका अनुसार पटक–पटक खोजतलास गर्दा तथा प्रहरी नियमावली, २०७१ अनुसार आवश्यक प्रक्रिया पूरा गरी सूचना प्रकाशित गर्दासमेत उनीहरू कार्यालयको सम्पर्कमा आएका छैनन् ।
सूचनामा काठमाडौं, तनहुँ, पर्सा, महाराजगञ्ज, जाजरकोट, इलाम, पाल्पा, मकवानपुर, सुर्खेत, कञ्चनपुर, रामेछापलगायत विभिन्न स्थानमा कार्यरत वा दरबन्दी रहेका प्रहरी कर्मचारीहरू समेटिएका छन् ।
प्रहरी प्रधान कार्यालयले सूचना प्रकाशित भएको मितिले बाटोको म्यादबाहेक सात दिनभित्र आफू गैरहाजिर हुनुको चित्तबुझ्दो कारणसहित सम्बन्धित कार्यालय वा सूचना जारी गर्ने कार्यालयमा उपस्थित हुन भनेको छ ।
तोकिएको समयभित्र उपस्थित नभएमा प्रहरी नियमावली, २०७१ अनुसार सेवाबाट हटाउनेसम्मको विभागीय कारबाही प्रक्रिया अघि बढाइने चेतावनीसमेत दिइएको छ ।
प्रहरी प्रधान कार्यालयले सम्बन्धित कर्मचारीलाई आफ्नो सफाइ पेस गर्ने अन्तिम अवसरका रूपमा सार्वजनिक सूचना जारी गरेको जनाएको छ ।
