फायल फोटो
विराटनगर । विराटनगरमा अब रात्रिकालीन होटल, पब, डिस्को, डान्स क्लब र लाइभ म्युजिक सञ्चालनको समय राति २ बजेसम्म तोकिएको छ । जिल्ला प्रशासन कार्यालय मोरङले यसअघि राति साढे १० बजेसम्म मात्र व्यवसाय सञ्चालन गर्न दिएको समयसीमा बढाउँदै नयाँ मापदण्ड लागू गरेको हो ।
‘विराटनगर क्षेत्रमा रात्रिकालीन होटल तथा व्यवसाय सञ्चालनसम्बन्धी मापदण्ड, २०८३’ मंगलबारदेखि लागू भएको हो । मापदण्डअनुसार राति २ बजेसम्म व्यवसाय सञ्चालन गर्न चाहनेले २१ वटा सर्त अनिवार्य रूपमा पालना गर्नुपर्नेछ ।
नयाँ व्यवस्थाअनुसार लाइभ म्युजिक, पब, डान्स क्लब, डिस्को र लाउन्ज बार राति २ बजेसम्म सञ्चालन गर्न पाइनेछ । त्यस्तै, दोहोरी, गजल, रेस्टुरेन्ट, खाना–खाजा पसल, चिया, मिठाई, आइसक्रिम तथा किराना पसल राति १२ बजेसम्म खोल्न सकिनेछ । राति १० बजेसम्म सञ्चालन हुने व्यवसायले भने छुट्टै अनुमति लिनुपर्ने छैन ।
राति १० बजेपछि व्यवसाय सञ्चालन गर्न चाहनेले सम्बन्धित स्थानीय तहको सिफारिस र आवश्यक कागजातसहित जिल्ला प्रशासन कार्यालयमा आवेदन दिनुपर्नेछ । अनुगमन समितिले स्थलगत निरीक्षण तथा मूल्याङ्कन गरेपछि मात्रै प्रशासनले अनुमति दिनेछ ।
नयाँ मापदण्डले रात्रिकालीन व्यवसायमा ध्वनि नियन्त्रणलाई अनिवार्य बनाएको छ । राति २ बजेसम्म गीत–संगीत बजाउँदा छरछिमेकलाई असर नपर्ने गरी व्यवसायस्थल साउन्डप्रुफ बनाउनुपर्नेछ । आवाज बाहिर नजाने प्रणाली जडान गर्नुपर्ने र ध्वनि प्रदूषण गरेको प्रमाणित भए अनुमति तत्काल रद्द गर्न सकिने व्यवस्था गरिएको छ ।
व्यवसाय राति २ बजेसम्म सञ्चालन गर्न पाइने भए पनि मदिरा बिक्रीको समय भने छुट्टै तोकिएको छ । दिउँसो १२ बजेअघि मदिरा बिक्री गर्न पाइने छैन । शुक्रबार राति १ बजेपछि र अन्य दिन राति १२ बजेपछि मदिरा बिक्री वितरणमा रोक लगाइएको छ ।
त्यस्तै, डान्स रेस्टुरेन्ट, दोहोरी, लाइभ ब्याण्ड, लाउन्ज बार, पब र डिस्कोमा १८ वर्षमुनिका बालबालिकालाई प्रवेश निषेध गरिएको छ । उनीहरूलाई मदिरा तथा सुर्तीजन्य पदार्थ बिक्री गर्न पनि पाइने छैन । मनोरञ्जनका नाममा अश्लीलता प्रदर्शन गर्न नपाइने र मौलिकता तथा संस्कृति झल्कने मर्यादित कार्यक्रम सञ्चालन गर्नुपर्ने मापदण्डमा उल्लेख छ ।
ग्राहकको सुरक्षा सुनिश्चित गर्न व्यवसायमा परिचयपत्र र पोशाकसहितका सुरक्षा गार्ड राख्नुपर्नेछ । प्रवेशद्वार र आसपासको सडक देखिने गरी सीसीटीभी जडान गरी कम्तीमा ३० दिनसम्मको दृश्य सुरक्षित राख्नुपर्ने व्यवस्था छ । साथै, अग्नि नियन्त्रण सामग्री, आपत्कालीन निकास, पर्याप्त प्रकाश र पार्किङको व्यवस्था मिलाउनुपर्नेछ ।
मादक पदार्थ सेवन गरेका ग्राहकलाई आवश्यक परे सुरक्षित रूपमा घरसम्म पुर्याउने व्यवस्था पनि व्यवसायीले गर्नुपर्नेछ । धूमपान नगर्ने ग्राहकलाई असर नपर्ने गरी छुट्टै स्मोकिङ जोन बनाउनुपर्ने सर्तसमेत राखिएको छ ।
रात्रिकालीन व्यवसायमा काम गर्ने श्रमिकलाई आलोपालो सिफ्टमा खटाउनुपर्ने, अतिरिक्त समय काम गरेबापत थप सुविधा दिनुपर्ने तथा रातिको खाना र आउजाउका लागि पिक एन्ड ड्रपको व्यवस्था गर्नुपर्नेछ । महिला श्रमिकका लागि स्तनपान कक्ष र सुरक्षित रूपमा पोशाक परिवर्तन गर्ने कक्ष बनाउनुपर्ने व्यवस्था पनि मापदण्डमा समेटिएको छ ।
मापदण्ड कार्यान्वयन भए–नभएको अनुगमन गर्न सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरिएको छ । समितिमा सुरक्षा निकाय, विराटनगर महानगरपालिका र व्यवसायी संघका प्रतिनिधि रहनेछन् ।
समितिले नियमित तथा आकस्मिक अनुगमन गर्नेछ । तोकिएका सर्त उल्लंघन गरेको पाइएमा रात्रिकालीन व्यवसाय सञ्चालनको अनुमति तत्काल रद्द गरी आवश्यक कारबाही गर्न सकिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
