काठमाडौं । प्रहरीले पक्राउ गरेर नियन्त्रणमा लिएको इनम सापकोटाको मोबाइल फोन थुनामा रहेकै समयमा सिंहदरबार, प्रधानमन्त्री कार्यालयदेखि ललितपुरको ज्वागलसम्म सक्रिय भएको तथ्य सार्वजनिक भएको छ। फरेन्सिक रिपोर्टमा मोबाइल विभिन्न स्थानमा सक्रिय देखिएपछि यसको प्रयोग कसले र किन गर्यो भन्ने प्रश्न उठेको छ।
प्रहरीको विशेष ब्युरोले झापाका ३१ वर्षीय इनम सापकोटालाई असोज १४ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो। उनी दिल्ली जाने तयारीमा रहेको अवस्थामा पक्राउ परेका थिए।
प्रहरीले नियन्त्रणमा लिएपछि मोबाइल बन्द गरेर फरेन्सिक परीक्षणका लागि पठाउने प्रक्रिया अघि बढाएको थियो। तर, फरेन्सिक रिपोर्टअनुसार प्रहरीको प्रयोगशालामा पुग्नुअघि नै उक्त मोबाइल सक्रिय भएको देखिएको छ।
अनुसन्धानमा संलग्न प्रहरी अधिकारीलाई उद्धृत गर्दै बाह्रखरीले जनाएअनुसार असोज १६ गते बिहान ९ बजेर १६ मिनेट ४५ सेकेन्डमा मोबाइल पहिलोपटक सक्रिय भएको थियो। त्यसबेला मोबाइल सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय क्षेत्रमा रहेको देखिएको रिपोर्टमा उल्लेख छ।
त्यसपछि मोबाइल ललितपुरको ज्वागलस्थित गणेश मन्दिरनजिक पुगेको देखिन्छ। उक्त स्थानमा प्रधानमन्त्री बालेन शाहका प्रमुख सल्लाहकार कुमार ब्यञ्जनकारको निवास रहेको समाचारमा उल्लेख छ। मोबाइल त्यसपछि दरबारमार्ग पुगेको र पुनः ज्वागल फर्किएको विवरणसमेत फरेन्सिक रिपोर्टमा रहेको छ।
प्रहरीबाटै प्रधानमन्त्री कार्यालय पुगेको दाबी
मोबाइल कसरी प्रहरीको नियन्त्रणबाट बाहिर पुग्यो भन्ने विषयमा बाह्रखरीले प्रहरी अधिकारी, विज्ञ तथा सरकारका मन्त्रीहरूसँग जानकारी लिएको जनाएको छ।
एक उच्च अधिकारीका अनुसार फरेन्सिक परीक्षण हुनुअघि नै मोबाइल प्रधानमन्त्री कार्यालयमा पुर्याइएको थियो। मोबाइल बुझाउने क्रममा केही प्रहरी अधिकारी र गृहमन्त्री सुधन गुरुङसमेत उपस्थित रहेको ती अधिकारीको दाबी छ।
उनका अनुसार गृहमन्त्री गुरुङकै निर्देशनमा प्रहरीले मोबाइल प्रधानमन्त्री कार्यालय पुर्याएको थियो। त्यहाँ प्रधानमन्त्रीको सचिवालयका असिम शाह उपस्थित थिए। पछि शाहले नै मोबाइल कुमार ब्यञ्जनकारको निवासमा पुर्याएको हुन सक्ने ती अधिकारीको भनाइ छ।
यसैबीच, इनम प्रहरी हिरासतमा रहेकै समयमा गृहमन्त्रीका सहयोगी जेम्स कार्की र प्रधानमन्त्री कार्यालयका आईटी शाखाका सहयोगी चिराग श्रेष्ठ जिल्ला प्रहरी परिसर पुगेको पनि समाचारमा उल्लेख छ। उनीहरूले सापकोटाको मोबाइलबारे सोधखोज गरेको बताइएको छ।
मोबाइलबाट प्रमाण मेटिएको आशंका
अनुसन्धानमा संलग्न केही प्रहरी अधिकारीले इनम सापकोटासँग सरकारका उच्च तहका व्यक्तिहरूको सम्पर्क देखिएको र त्यससम्बन्धी विवरण सार्वजनिक हुने डरले मोबाइलका केही सन्देश मेटाइएको हुन सक्ने आशंका गरेका छन्।
मुलुकी अपराध संहिता २०७४ को दफा ९३ मा प्रमाण नष्ट गर्ने कार्यलाई कसुर मानिएको छ। यस्तो कसुरमा दोषी ठहर भए तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिबाना हुने व्यवस्था रहेको समाचारमा उल्लेख छ।
सापकोटालाई सुरुमा प्रहरी प्रधान कार्यालयले नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो। पछि जिल्ला प्रहरी परिसर काठमाडौंको जिम्मा लगाइएको उनलाई हाल सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा समेत अनुसन्धान गर्न थालिएको छ।
उनी हाल भद्रकालीस्थित प्रहरी परिसरको हिरासतमा छन्। सापकोटासँग सम्पर्क देखिएका व्यक्तिमध्ये नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठका भाइ महेश श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको बाह्रखरीले जनाएको छ।
मोबाइल प्रहरीको नियन्त्रणमा रहेकै समयमा कसरी विभिन्न स्थानमा सक्रिय भयो र त्यसमा कसको संलग्नता थियो भन्ने विषय अब अनुसन्धानको मुख्य प्रश्न बनेको छ।
