काठमाण्डौ । मंगलबार सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक १२.७९ अंकले घटेर २६३६.१० विन्दुमा कायम भएको छ ।
नेप्सेमा सूचीकृत ३५३ कम्पनीको १ करोड १२ लाख ९१ हजार ४०५ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ७२ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।
आज म्युचुअल फण्ड समूहबाहेक सबै समूह राताम्य भएका छन् । म्युुचुअल फण्ड समूह ०.१२ प्रतिशतले बढेको छ । सर्वाधिक घट्नेमा होटल तथा पर्यटन समूह रहेको छ । यो समूह १.२१ प्रतिशतले घटेको छ ।
त्यस्तै, बैंकिङ समूह ०.४७ प्रतिशत, विकास बैंक समूह ०.८४ प्रतिशत, फाइनान्स समूह ०.५५ प्रतिशत, हाइड्रो समूह ०.३१ प्रतिशत, लगानी समूह ०.२७ प्रतिशत, जीवन बीमा समूह ०.८४ प्रतिशत, उत्पादन तथा प्रशोधन समूह ०.११ प्रतिशत, माइक्रोफाइनान्स समूह ०.६० प्रतिशत, निर्जीवन बीमा समूह ०.६९ प्रतिशत, व्यापार समूह ०.०२ प्रतिशत र अन्य समूह ०.५८ प्रतिशतले घटेको छ ।
आजको बजारबारे नेपाल सेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डेले चाडपर्व भर्खरै सकिएका कारण लगानीकर्ता अब बिस्तारै बजारतर्फ मुभ भएको बताए
साथै माहोल सकारात्मक भएकाले मंसिर महिनामा सेयर बजारले सकारात्मक गति लिन सक्ने उनले बताए ।
उनले घट्दो ब्याजदर, कम्पनीहरूले घोषणा गरिरहेका आकर्षक लाभांश र सुधारिँदो बजार वातावरणले लगानीकर्ताको मनोबल बढाउने विश्वास व्यक्त गरे ।
‘कारोबार राम्रो छ, अब लगानीकर्ता विस्तारै बजारतर्फ फर्किन्छन् । आत्तिनुपर्ने अवस्था छैन र ब्याजदर पनि घट्दो छ, कम्पनीहरूले पनि राम्रो लाभांश दिइरहेका छन्,’ उनले भने, ‘मंसिर महिना बजार बढ्ने महिना हो । बजार बढ्न सक्छ । अहिले धेरै पक्ष सबल देखिएका छन् ।’

