Premier Cables
Premier Steel

कोशी प्रदेश

अनसनपछि कोशी सरकारसँग पाँचबुँदे सहमति, अस्पताल निर्माणका लागि मंसिरसम्मको समयसीमा

Hamro Biratnagar News Channel Calendar मंगलबार, मंसिर ०१, २०८३  | राती ८:५३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । सात वर्षअघि स्थानीयले निःशुल्क उपलब्ध गराएको १६७ रोपनी जग्गामा अस्पताल निर्माण नगरेको भन्दै दबाब बढेपछि कोशी प्रदेश सरकार लिखित सहमतिमा आएको छ ।

ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–७ टोक्सेलमा प्रादेशिक अस्पताल तथा मेडिकल कलेज निर्माणको माग गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअगाडि आमरण अनसन बसेका जग्गादातासँग प्रदेश सरकारले पाँचबुँदे सहमति गरेको हो ।

विज्ञापन

सोमबारदेखि सुरु भएको अनसन मंगलबार स्वास्थ्यमन्त्री इन्द्रमणि पराजुली र संघर्ष समितिका प्रतिनिधिबीच भएको वार्तापछि स्थगित भएको छ । सहमतिपत्रमा मन्त्री पराजुली र संघर्ष समितिका संयोजक माधवप्रसाद ढुंगानाले हस्ताक्षर गरेका छन् ।

सहमतिअनुसार अस्पताल निर्माणका लागि दान गरिएको जग्गाको प्राविधिक टोलीबाट निरीक्षण गरिनेछ । हाल सामाजिक विकास मन्त्रालयको नाममा रहेको १६७ रोपनी जग्गा स्वास्थ्य मन्त्रालयको नाममा ल्याउन आवश्यक प्रक्रिया अघि बढाइनेछ ।

त्यस्तै, अस्पताल निर्माणका लागि वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) गर्न आगामी मंसिरभित्र स्रोत व्यवस्थापन गरी चालु आर्थिक वर्षभित्र प्रतिवेदन तयार गर्ने सहमति भएको छ ।

जग्गा निरीक्षण र ईआईएलगायतका प्रक्रिया पूरा भएपछि प्राप्त प्रतिवेदनका आधारमा आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रममा अस्पताल निर्माणका लागि आवश्यक रकम सुनिश्चित गर्ने प्रदेश सरकारले प्रतिबद्धता जनाएको छ ।

तर सरकारले मंसिरभित्रै अस्पतालको भौतिक निर्माण सुरु गर्ने प्रतिबद्धता भने जनाएको छैन । सहमतिअनुसार मंसिरभित्र निर्माणका लागि आवश्यक पूर्वतयारी र स्रोत व्यवस्थापनको प्रक्रिया अघि बढाउनुपर्नेछ ।

संघर्ष समितिका संयोजक ढुंगानाले सहमति कार्यान्वयन भए–नभएको निरन्तर निगरानी गर्ने बताए । मंसिरभित्र आवश्यक प्रक्रिया अघि नबढे पुनः आन्दोलनमा उत्रिने उनको चेतावनी छ ।

जग्गा व्यवस्थापन समितिका अध्यक्ष अर्जुनकुमार गौतमले आफूहरूको माग जग्गा फिर्ता नभई अस्पताल निर्माण भएको हेर्नु रहेको बताए । सरकारले सहमति कार्यान्वयन नगरे पुनः मुख्यमन्त्री कार्यालयअगाडि आमरण अनसन बस्ने उनले बताए ।

सात वर्षअघि जग्गा लिएर पनि बनेन अस्पताल

तत्कालीन मुख्यमन्त्री शेरधन राई नेतृत्वको प्रदेश सरकारले टोक्सेलमा १५० शय्याको प्रादेशिक अस्पताल तथा मेडिकल कलेज निर्माण गर्ने योजना अघि बढाएको थियो ।

त्यसका लागि ३२ जना स्थानीय जग्गादाताले १६७ रोपनी जग्गा निःशुल्क उपलब्ध गराएका थिए । २०७७ जेठ १६ गते मालपोत कार्यालयमार्फत रजिस्ट्रेसन पारित गरी जग्गा तत्कालीन सामाजिक विकास मन्त्रालयको नाममा हस्तान्तरण गरिएको थियो ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka