विराटनगर । नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले कोशी प्रदेश कार्यसमितिको दोस्रो अधिवेशन मंसिर १७ र १८ गते विराटनगरमा गर्ने भएको छ।
यसअघि मंसिर ४ गते अधिवेशन गर्ने निर्णय भए पनि मिति परिवर्तन गरिएको हो। विराटनगरमा आज बसेको प्रदेश पदाधिकारी, जिल्ला सभापति तथा केन्द्रमा कोशी प्रदेशबाट प्रतिनिधित्व गर्ने नेताहरूको संयुक्त बैठकले नयाँ मिति तय गरेको प्रदेश महामन्त्री भुपेन्द्र राईले जानकारी दिए।
बैठकमा नेता कृष्णप्रसाद सिटौलासहित प्रदेशका पदाधिकारी, जिल्ला सभापति तथा अन्य नेताहरूको सहभागिता थियो।
महामन्त्री राईका अनुसार अधिवेशनको उद्घाटन निवर्तमान सभापति शेरबहादुर देउवाले गर्नेछन्। अधिवेशनमा २ हजार ३०० भन्दा बढी प्रतिनिधि सहभागी हुने अपेक्षा गरिएको छ।
अधिवेशन सम्पन्न गर्न बैठकले विभिन्न तयारी समिति पनि गठन गरेको छ। पूर्वमुख्यमन्त्री केदार कार्कीको संयोजकत्वमा व्यवस्थापन समिति र शोभा श्रेष्ठ नेम्वाङको संयोजकत्वमा प्रचार समिति गठन गरिएको छ।
त्यस्तै, प्रदेश महामन्त्री राईको संयोजकत्वमा मूल समारोह समिति रहनेछ। आवश्यकताअनुसार भोजन व्यवस्थापन, मञ्च व्यवस्थापनलगायतका अन्य उपसमिति पनि गठन गरिने उनले बताए।
