विराटनगर । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मोरङ क्षेत्र नं. २ बाट युवा नेता रामकुमार परियार केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध निर्वाचित भएका छन्।
पथरी शनिश्चरे नगरपालिका–६ निवासी परियार दलित आरक्षण कोटातर्फ निर्विरोध निर्वाचित भएका हुन्। उनका प्रतिस्पर्धीहरूले उम्मेदवारी फिर्ता लिएपछि परियार निर्विरोध निर्वाचित भएका हुन्।
२०५९ सालमा मंगल सिंह माविको नेपाल विद्यार्थी संघ इकाई सचिवबाट राजनीतिक यात्रा सुरु गरेका परियारले प्रारम्भिक चरणमा साइकल चढेर गाउँ–गाउँमा नेविसंघको संगठन विस्तार गरेका थिए।
विद्यार्थी राजनीतिदेखि नेपाली जनसम्पर्क समिति यूएई तथा अन्तर्राष्ट्रिय समितिमा रहेर काम गरेका परियारले नेपाल प्रेस युनियन र नेपाली कांग्रेसका विभिन्न सूचना, सञ्चार तथा प्रचारप्रसारसम्बन्धी जिम्मेवारीसमेत सम्हालिसकेका छन्।
दुई दशकभन्दा लामो संगठनात्मक अनुभव बोकेका परियारको निर्विरोध चयनलाई तल्लो तहबाट संगठनमा निरन्तर सक्रिय रहँदै आएका कार्यकर्ताको यात्राको निरन्तरताका रूपमा हेरिएको छ।
