विराटनगर । ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–७ मा प्रादेशिक अस्पताल तथा मेडिकल कलेज स्थापना गर्ने उद्देश्यले स्थानीय बासिन्दाले निःशुल्क उपलब्ध गराएको १६७ रोपनी जग्गा उपयोगविहीन बनेको भन्दै स्थानीयले आमरण अनशन सुरु गर्ने भएका छन् ।
अस्पताल तथा मेडिकल कलेज स्थापनाका लागि जग्गा उपलब्ध गराए पनि सरकारले अहिलेसम्म निर्माण तथा स्थापनाको काम अघि नबढाएको स्थानीयको गुनासो छ । यस विषयमा पटकपटक सम्बन्धित निकायमा पहल गर्दा पनि सुनुवाइ नभएको उनीहरूको भनाइ छ ।
सरकारले जग्गा ओगटेर राखे पनि आयोजना अघि नबढाएको भन्दै स्थानीय बासिन्दाले दबाबस्वरूप आमरण अनशन बस्ने घोषणा गरेका हुन् ।
स्थानीयले सोमबार (कात्तिक ३०) दिउँसो २ः४५ बजेदेखि विराटनगरस्थित कोशी प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अनशन सुरु गर्ने जनाएका छन् ।
आफ्नो मागप्रति सरकारको ध्यानाकर्षण गराउन अनशन बस्न लागेको भन्दै उनीहरूले सञ्चारकर्मीलाई उपस्थित भएर समाचार सम्प्रेषणमा सहयोग गर्न आग्रह गरेका छन् ।
प्रादेशिक अस्पताल तथा मेडिकल कलेज स्थापना भए ओखलढुंगा र आसपासका जिल्लाका बासिन्दाले स्वास्थ्य सेवा पाउनुका साथै चिकित्सा शिक्षाको अवसरसमेत प्राप्त गर्ने स्थानीयको अपेक्षा छ ।
