जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज (शनिबार) प्रदेशसभाबाट विश्वासको मत लिँदै छन्। विश्वासको मत प्रयोजनका लागि मधेश प्रदेशसभा सचिवालयले आज प्रदेशसभा बैठक आह्वान गरेको छ।
यसअघि सत्ता साझेदार दल नेकपा एमालेले असोज ३० गते आफ्ना चार मन्त्रीलाई फिर्ता बोलाउँदै सरकारबाट समर्थन फिर्ता लिएको थियो। त्यसलगत्तै कात्तिक २० गते नेकपाले पनि चार मन्त्रीलाई राजीनामा गराउँदै समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादव नेतृत्वको सरकार अल्पमतमा परेको हो।
आवश्यक बहुमत जुटाउन मुख्यमन्त्री यादव विभिन्न राजनीतिक दलका नेताहरूसँग निरन्तर छलफलमा छन्। मतदानको समयसम्म सहमतिको प्रयास जारी रहने उनले बताएका छन्।
१०२ सदस्यीय मधेश प्रदेशसभामा बहुमतका लागि ५२ सांसद आवश्यक पर्छ। वर्तमान समीकरणअनुसार मुख्यमन्त्री यादवको पक्षमा कांग्रेसका २२ सांसद मात्र रहेकाले बहुमतका लागि थप ३० मत जुटाउनुपर्ने चुनौती छ, जसका लागि जसपा, एमाले, नेकपा, जनमत लगायतका दलहरूको भूमिका निर्णायक हुनेछ।
नयाँ सत्ता समीकरणका विषयमा राजनीतिक दलहरूबीच अझै स्पष्ट सहमति जुट्न सकेको छैन।
जसपा संसदीय दलका नेता सरोजकुमार यादव आफ्नै नेतृत्वमा सरकार बनाउन प्रयासरत रहे पनि आन्तरिक कलहका कारण समीकरणले पूर्णता पाउन सकेको छैन भने जनमत पार्टी सरकारबाहिरै बस्ने पक्षमा छ।
विश्वासको मत प्राप्त नभएमा मुख्यमन्त्री यादवले आजै राजीनामा दिने र त्यसपछि संविधानको धारा १६८ बमोजिम नयाँ सरकार गठनको प्रक्रिया सुरु हुने सम्भावना रहेको छ।
