काठमाडौँ । दसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट गाउँघर फर्किने सर्वसाधारणको भीडभाड बढिसकेको छ । घटस्थापनापछि दसैँलगायतका चाडपर्व मनाउनको लागि बाहिरिने सर्वसाधारणको सङ्ख्या वृद्धि भइरहेको छ ।
वर्षदिनमा आउने चाड र इष्टमित्र र आफन्तसँगको पारिवारिक मिलन पनि हुने भएकाले पनि सर्वसाधारण ट्राफिक जाम, असुरक्षित यात्रा गरेरै भए पनि आआफ्नो गाउँघरमा फर्किने क्रम जारी नै छ । कमजोर सडक संरचना, ट्राफिक जामलगायतका अवरोधलाई छिचोल्दै सर्वसाधारण आआफ्नो गाउँघर फर्किरहेका छन् ।
गोदावरी नगरपालिका कैलालीका अमर महता पनि आफ्नो परिवारसहित दसैँ मनाउन घर जान लागेको बताउनुभयो । “हवाई टिकट महँगिएर छोइसक्नुभएको छ । हामी त बस चढेर नै दसैँ मनाउनको लागि घर जान लागेका छौँ,” उहाँले भन्नुभयो, “अहिलेको सडकको अवस्था हेर्दा त जाम पनि डर लाग्छ तर वर्षदिनमा आउने चाड मनाउन त जानुप¥यो नि !”
उहाँ मात्रै होइन, काठमाडौँ उपत्यकाभन्दा बाहिर घर रहेका ७४ वटै जिल्लाका सर्वसाधारण दसैँलगायतका पर्व मनाउनको लागि आआफ्नो घर फर्किंदै छन् । पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले २०८३ दसैँ पर्वको लागी सार्वजनिक यातायातको यात्रा व्यवस्थापनसम्बन्धी प्रतिवेदनअनुसार दसैँमा सार्वजनिक यातायातमार्फत उपत्यका छोड्ने यात्रुहरुको सङ्ख्या न्यूनतम छ लाख ५० हजारदेखि अधिकतम नौ लाख ७५ हजार जना बाहिरिने प्रक्षेपण गरिएको बताउनुभयो ।
“दसैँमा यात्रुलाई आआफ्नो गाउँघर पु¥याउनको लागि न्यूनतम ४३ हजारदेखि ६५ हजार सार्वजनिक सवारीसाधनका ‘ट्रिप’हरुको आवश्यकता पर्नेछ,” उहाँले भन्नुभयो, “सो प्रतिवेदनले दसैँमा यात्रा गर्ने यात्रुको अल्पकालीन र दीर्घकालीनलगायतका समस्याको समाधानको बाटो पनि पहिल्याएको छ ।” यसमध्ये ठूला बसहरूको हिस्सा ४८ प्रतिशतभन्दा धेरै यात्रु ओसार्ने बताइन्छ । त्यसैगरी माइक्रोबसले ४३ प्रतिशत र मिनीबसले नौ प्रतिशत हिस्सा ओगट्नेछ ।
पूर्वाधार विकास समितिका सभापति गजुरेलको नेतृत्वमा १७ सदस्यीय अध्ययन टोलीले सो प्रतिवेदन तयार पारेको हो । सो प्रतिवेदनअनुसार यसपालिको दसैँमा सबैभन्दा बढी चाप असोज ३१ (फूलपाती) देखि कात्तिक २ (अष्टमी)सम्मको तीन दिनको अवधिमा हुने बताइन्छ । प्रतिवेदनअनुसार असोज ३१ गते फूलपातीको दिन न्यूनतम ७५ हजार ५२२ देखि अधिकतम एक लाख १३ हजार २८३ यात्रुले यात्रा गर्ने अनुमान गरिएको छ । फूलपातीको दिनमा न्यूनतम चार हजार ९११ देखि अधिकतम सात ३७६ सवारीसाधन आवश्यक पर्नेछ ।
त्यसैगरी कात्तिक १ गते न्यूनतम ६७ हजार २४३ र अधिकतम एक लाख ८६४ जना यात्रुले यात्रा गर्ने अनुमान छ । त्यसका लागि न्यूनतम चार हजार ४६३ र अधिकतम छ हजार ६९५ वटा सवारीसाधन आवश्यक पर्नेछ । यस्तै कात्तिक २ गते न्यूनतम ५० हजार ३११ देखि अधिकतम ७५ हजार ४६६ जना यात्रुको लागि न्यूनतम दुई हजार ८१८ र अधिकतम हजार २२७ सवारीसाधन आवश्यक पर्ने बताइन्छ । कात्तिक ३ गते न्यूनतम् ३६ हजार ४४१ र अधिकतम ५४ हजार ६६१ जना यात्रु उपत्यका बाहिरिनेछन् । यसका लागि न्यूनतम एक हजार ८२६ र अधिकतम दुई हजार ७३९ वटा सार्वजनिक सवारीसाधन आवश्यक पर्नेछ ।
कमजोर सडक संरचनाले यात्रा गर्न चुनौती थपिँदै
गत भदौ १० गते रसुवा भोटेकोशीमा गएको बाढीपछि त्रिशूली नदीको बहावले पटक–पटक पृथ्वी राजमार्गअन्तर्गतको विभिन्न खण्डमा सडक भासिने समस्याले भने सर्वसाधारण ढुक्क भएर यात्रा गर्न भने डराइरहेका छन् । बिपी राजमार्गमा पनि पटक–पटक पहिरो जाने समस्याले पनि विभिन्न खालका बाधा अड्चन आइरहेको छ ।
अर्काेतर्फ गत असोज १५ गते बूढीगण्डकी नदीमा आएको बाढीले पनि आरुघाट गाउँपालिका वडा नं २ र ३ जोड्ने सोतीमा रहेको पक्की फलामे पुलमा क्षति हुँदा पनि आवतजावतमा समस्या ल्याएको छ । गोरखाको आरुघाट गाउँपालिकास्थित फलामे पक्की पुललगायतको संरचनामा क्षति भएकाले पनि गत असोज २५ गतेदेखि सो खण्डको सडक अवरुद्ध छ ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष पुण्यप्रसाद सिटौलाले राष्ट्रिय राजमार्गहरु दयनीय भएकाले पनि यात्रुलाई सुरक्षित ढङ्गले आफ्नो गन्तव्यमा पु¥याउने चुनौती रहेको बताउनुभयो । “हामीले दसैँलगायतका चाडपर्व मनाउने सर्वसाधारणलाई सुरक्षित ढङ्गले घर पु¥याउनका लागि यातायात व्यवसायीले आवश्यक समन्वय र सहकार्य गरिरहेका छौँ,” उहाँले भन्नुभयो, “राजमार्गहरुको अवस्था निकै खराब भएकाले पनि यात्रुलाई कसरी सुरक्षित गन्तव्यमा पु¥याउने भन्ने चुनौती कायमै छ ।”
पूर्वाधार विकास समितिका सभापति गजुरेलले भोटेकोशी बाढी र अन्य जिल्लामा आएको अविरल वर्षाले मुलुकका विभिन्न राजमार्ग र पुललगायतका संरचनामा हुनसक्ने क्षति र असरलाई मध्यनजर गर्दै व्यवस्थित ढङ्गले यातायातको प्रबन्ध मिलाउनको लागि सरोकारवाला निकायलाई ध्यानाकर्षण गराएको बताउनुभयो । “राज्यको धेरै जनशक्ति र स्रोत सडक खुलाउन र मर्मत गर्न लगाउनुपर्ने अहिलेको आवश्यकता रहेको छ,” उहाँले भन्नुभयो, “यात्रुको सुरक्षालाई ध्यान दिँदै सहजतापूर्वक चाडपर्व मनाउन घर जाने व्यवस्था गर्न आवश्यक छ ।”
सडक विभागले सम्भावित विपद् र दुर्घटनालाई ध्यानमा राखी ५३ वटा ठूला डोजर, स्काभेटर, लोडर आदि तयारी अवस्थामा राखेको जनाएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले पनि दसैँको समयमा काठमाडौँ उपत्यकाभित्रको ट्राफिक व्यवस्थापनको लागि एक हजार ३०० भन्दा धेरै ट्राफिक जनशक्ति परिचालन हुने जनाएको छ । चाडपर्वको मुख्य समयमा अधिकृत तथा जवानहरूलाई लामो समय (१५–१६ घण्टासम्म) सम्म ड्युटीमा खटाउने कार्यतालिका रहेको छ ।
प्रतिवेदनले पनि दसैँको समयमा सञ्चालनमा आउने सवारीसाधन र चालक जाँचलाई पनि उच्च प्राथमिकतामा राख्नको लागि सुझाव दिएको छ । सो अवधिमा ट्राफिक प्रहरीले सवारीसाधनको प्राविधिक अवस्था (फिटनेस), कागजात तथा चालक अनुमतिपत्र (सवारी चालक इजाजतपत्र) जाँच गर्ने, मादकपदार्थ तथा लागूऔषध सेवन (मापसे÷लापसे) परीक्षण गर्ने, क्षमताभन्दा बढी यात्रु बोके÷नबोकेको जाँच गर्ने र लामो दूरीको यात्रामा अनिवार्य दुई जना चालक राख्नुपर्ने नियमको पालना भए÷नभएको अनुगमन गर्नेलगायतका जिम्मेवारी पनि ट्राफिक प्रहरीलाई तोकिएको छ ।
