काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना शुक्रबार बिहान सम्पन्न भएको छ । मधेश र बागमती प्रदेशको अन्तिम मतपरिणाम आएसँगै असोज २३ गते रातिदेखि सुरु भएको मतगणना सकिएको हो ।
निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार लुम्बिनी, गण्डकी, उपत्यका, श्रमिक, शहीद परिवार तथा द्वन्द्वपीडिततर्फका केन्द्रीय सदस्यहरूको मतगणना राति नै सम्पन्न भएको थियो ।
त्यसैगरी सहमहामन्त्री तथा खुला र महिला केन्द्रीय सदस्य चयन हुने खसआर्य र थारू क्लस्टरतर्फको मतगणना पनि राति अबेर सकिएको उनले जानकारी दिए । अहिले सबै पदको मतपरिणाम रुजु गर्ने काम भइरहेको र केही समयमै नतिजा सार्वजनिक गर्ने तयारी रहेको कटुवालले बताए ।
अन्य पदको मतगणना यसअघि नै सम्पन्न भइसकेको थियो । निर्वाचन समितिका अनुसार यसपटक सात हजार ३९२ मतदाताको मतगणना एक सातामै सकिएको छ । कांग्रेसको १४औँ महाधिवेशनमा चार हजार ७०० मतदाताको मतगणना गर्न १२ दिन लागेको थियो ।
कटुवालका अनुसार यसपटक मतगणना सुरु भएकै दिनदेखि दिनरात गरी करिब २५ समूह परिचालन गरिएको थियो । मतदान र मतगणनाका क्रममा कुनै विवाद नभएको तथा निर्वाचन सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको उनले बताए ।
यसपटक करिब एक लाख ६२ हजार मतपत्र गणना गरिएको थियो । कुल २२९ पदका लागि निर्वाचन भएकोमा ७७ प्रकारका पद रहेका थिए । प्रत्येक मतदाताले २३ वटा मतपत्रमार्फत मतदान गर्नुपर्ने व्यवस्था गरिएको थियो ।
अघिल्लो महाधिवेशनको तुलनामा यसपटक मतगणना दोब्बरभन्दा बढी छिटो सम्पन्न भएको निर्वाचन समितिका सदस्यसचिव कटुवालको दाबी छ ।
नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यलाई प्रमाणपत्र वितरण र शपथग्रहण कार्यक्रम दसैँलगत्तै गर्ने तयारी गरिएको छ । त्यसपछि नवनिर्वाचित कार्यसमितिको पहिलो बैठक बस्ने नेताहरूले बताएका छन् ।
पहिलो बैठकबाटै आगामी स्थानीय तहको निर्वाचनको तयारी र रणनीतिबारे छलफल गरी आवश्यक खाका बनाउने तयारीसमेत भइरहेको जनाइएको छ ।
