Premier Cables
Premier Steel

समाचार

आजदेखि बडादसैं सुरु, घटस्थापनाको उत्तम साइत बिहान ११:४७ बजे

Hamro Biratnagar News Channel Calendar आइतबार, असोज २५, २०८३  | बिहान १०:२७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । नेपालीहरूको महान् पर्व बडादसैं आजदेखि विधिवत् रूपमा सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका अवसरमा आज देशभरका हिन्दू धर्मावलम्बीले घरघरमा दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गर्दैछन्।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार घटस्थापनाका लागि आज बिहान ११ बजेर ४७ मिनेटमा अभिजित् मुहूर्तको उत्तम साइत रहेको छ।

विज्ञापन

समितिका अध्यक्ष सहप्राध्यापक डा. पुरुषोत्तम भट्टराईका अनुसार आज दिनभर चित्रा नक्षत्र रहने भएकाले शास्त्रीय मान्यताअनुसार मध्याह्नकालको अभिजित् मुहूर्तलाई घटस्थापनाको साइत निर्धारण गरिएको हो। सूर्योदयका समयमा प्रतिपदा तिथि परेका दिन घटस्थापना गर्नुपर्ने धार्मिक विधान रहेको उल्लेख गर्दै उनले सामाजिक सञ्जालमा अन्य तिथिमितिबारे फैलिएका भ्रम शास्त्रसम्मत नभएको स्पष्ट पारे।

घटस्थापनाका दिन पूजाकोठा वा दसैंघरमा पवित्र स्थानबाट ल्याइएको बालुवा र माटो राखेर त्यसमा विधिपूर्वक जौ छर्ने परम्परा छ। गाईको गोबरले लिपेर तयार पारिएको स्थानमा जमरा राख्ने चलनअनुसार नौ दिनसम्म यसको पूजा गरिन्छ। जौको अंकुरलाई देवी दुर्गाको प्रिय वस्तु तथा समृद्धिको प्रतीक मानिन्छ। विजयादशमीका दिन रातो टीकासँगै पहेँलो जमरा ग्रहण गर्ने परम्परा नेपाली समाजमा प्रचलित छ।

कतिपय स्थानमा गहुँ वा मकैको जमरा राख्ने चलनसमेत रहे पनि धर्मशास्त्रविद्हरूले शास्त्रीय विधिअनुसार जौको जमरालाई विशेष महत्त्व दिँदै आएका छन्।

घटस्थापनासँगै नौ दिनसम्म मनाइने नवरात्र पनि सुरु भएको छ। नवरात्रका अवधिमा देवी दुर्गाका नौ स्वरूप शैलपुत्रीदेखि सिद्धिदात्रीसम्मको विधिपूर्वक पूजा–आराधना गरिन्छ। यस अवसरमा घरघरमा चण्डी तथा देवी स्तोत्र पाठ गरिनुका साथै देशभरका प्रमुख शक्तिपीठहरूमा भक्तजनको घुइँचो लाग्ने गर्दछ।

असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाइने बडादसैं नेपालीहरूको प्रमुख सांस्कृतिक तथा धार्मिक पर्व हो। यस पर्वमा परिवारका सदस्य तथा आफन्तजनबीच भेटघाट, आशीर्वाद आदानप्रदान र पारिवारिक सद्भाव कायम गर्ने परम्परा पनि रहिआएको छ।

यस वर्षको विजयादशमी अर्थात् दसैंको टीका आगामी कात्तिक ४ गते परेको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले विजयादशमीका दिन टीका लगाउने उत्तम साइत बिहान १० बजेर २६ मिनेटका लागि निर्धारण गरेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka