Premier Cables
Premier Steel

कोशी प्रदेश

कोशी प्रदेशसभाद्वारा नियमावली पारित, विभिन्न समन्वय समिति गठनको व्यवस्था

Hamro Biratnagar News Channel Calendar शनिबार, असोज २४, २०८३  | साँझ ७:२५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । कोशी प्रदेशसभाको बैठकले प्रदेशसभाको नियमावली पारित गरेको छ। पारित नियमावलीमा प्रदेशको नामकरण संशोधन, महिला सदस्यहरूको समन्वय तथा प्रदेशसभा सदस्यबीच समन्वयका लागि विभिन्न समितिको व्यवस्था गरिएको छ।

नियमावलीमा प्रदेशको नामकरण संशोधनसम्बन्धी प्रस्ताव अघि बढाउने प्रक्रिया उल्लेख गरिएको छ। प्रदेशको नामकरण संशोधन गर्न चाहने सदस्यले नेपालको संविधानको धारा २९५ को उपधारा (२) बमोजिम प्रदेशको नामकरण भएको अवस्थामा त्यसमा हेरफेर वा संशोधन गर्न चाहने कुल सदस्य संख्याको एकतिहाइ सदस्यको समर्थनसहितको प्रस्ताव सचिवसमक्ष पेस गर्न सक्ने व्यवस्था छ।

विज्ञापन

प्रस्ताव प्राप्त भएपछि सचिवले सभामुखसमक्ष पेस गर्नुपर्ने र सभामुखले कार्यव्यवस्था परामर्श समितिको परामर्शमा प्रस्तावमाथि छलफलका लागि मिति र समय निर्धारण गर्ने प्रावधान नियमावलीमा समेटिएको छ।

त्यस्तै, प्रदेशसभामा रहेका महिला सदस्यहरूको आवश्यक समन्वयका लागि महिला समन्वय समिति गठन गर्ने व्यवस्था गरिएको छ। उक्त समितिको संयोजक महिला उपसभामुख रहने र महिला उपसभामुख नभएको अवस्थामा समितिका सदस्यहरूमध्येबाट संयोजक चयन गरिने नियमावलीमा उल्लेख छ।

महिला समन्वय समितिको कामकारबाहीसम्बन्धी विषय कार्यव्यवस्था परामर्श समितिको परामर्शमा सभामुखले स्वीकृत गरेको कार्यविधिअनुसार सञ्चालन हुने व्यवस्था पनि गरिएको छ।

यसैगरी, प्रदेशसभाका सदस्यहरूको आवश्यकताअनुसार समन्वय गर्न पूर्व प्रदेशसभा सदस्य समन्वय समिति गठन गर्न सकिने प्रावधान राखिएको छ। उक्त समितिको संयोजक पूर्व प्रदेशसभा सदस्यहरूले आफूमध्येबाट चयन गर्ने व्यवस्था छ।

समन्वय समितिहरूको कामकारबाहीलाई व्यवस्थित बनाउन सभामुखको स्वीकृत कार्यविधिअनुसार सञ्चालन गर्ने तथा समितिको कामकारबाहीका सिलसिलामा सम्बन्धित पदाधिकारीले समन्वय समितिसँग परामर्श लिन सक्ने व्यवस्था पनि नियमावलीमा समेटिएको छ।

नियमावलीले प्रदेशसभाको कामकारबाही सञ्चालन, सदस्यहरूबीच समन्वय तथा संसदीय प्रक्रियालाई व्यवस्थित गर्न आवश्यक प्रावधानहरू निर्धारण गरेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka