Premier Cables
Premier Steel

विराटनगर

झोराहाटमा ‘स्रष्टा सम्मान तथा गाउँमा कविता’, साहित्यसँगै दुई घण्टा सांगीतिक प्रस्तुति

Hamro Biratnagar News Channel Calendar सोमबार, मंसिर ०७, २०८३  | बिहान ९:४८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । सहरकेन्द्रित साहित्यिक गतिविधिलाई गाउँसम्म विस्तार गर्ने उद्देश्यसहित मोरङको ग्रामथान गाउँपालिका–२, झोराहाटमा ‘स्रष्टा सम्मान तथा गाउँमा कविता’ कार्यक्रम आयोजना हुने भएको छ।

धनलक्ष्मी–यशोदा वाङ्मय पुरस्कारको आयोजनामा आगामी मङ्सिर १९ गते शनिबार कार्यक्रम हुन लागेको हो। कार्यक्रममा नेपाली भाषा, साहित्य र सिर्जनाका क्षेत्रमा योगदान पुर्‍याएका चार स्रष्टालाई सम्मान गरिने आयोजकले जनाएको छ।

विज्ञापन

सम्मानित हुने स्रष्टाहरूमा कुन्ता शर्मा, जसराज किराँती, विष्णुविभु घिमिरे र मधु पोख्रेल रहेका छन्। सम्मानसँगै विभिन्न कविहरूले आफ्ना सिर्जना प्रस्तुत गर्ने कार्यक्रमसमेत तय गरिएको आयोजक परिवारका सदस्य गण्डकीपुत्रले जानकारी दिए।

कार्यक्रममा कवि ज्योति जङ्गल, रोशन परियार, मीनकुमार नवोदित, उमेश लुइँटेल, शुभलक्ष्मी लम्साल, टीका आत्रेय, अमित थेवे, दीपा मग्राती, गीता पुडासैनी र दिल भुटानीले कविता वाचन गर्नेछन्। कार्यक्रमको सहजीकरण कवि रमेशचन्द्र अधिकारीले गर्नेछन्।

साहित्यिक कार्यक्रमपछि करिब दुई घण्टा सांगीतिक प्रस्तुति रहने आयोजकले जनाएको छ। सांगीतिक कार्यक्रममा अग्रज गायक दिवाकर खड्का, चलचित्र निर्देशक तथा संगीतकार एवं गायक दीपक रमण, संगीतकार प्रद्युम्न घले, गायिका ऋतु कँडेल, सुरसा काफ्ले र रमिला वनले प्रत्यक्ष बाजागाजासहित प्रस्तुति दिनेछन्।

स्रष्टाको सम्मान, कविता वाचन र सांगीतिक प्रस्तुतिलाई एउटै मञ्चमा जोडेर आयोजना गर्न लागिएको कार्यक्रमले झोराहाटलाई साहित्य तथा कलाको उत्सवमय केन्द्र बनाउने अपेक्षा गरिएको छ। सहरमा सीमित साहित्यिक गतिविधिलाई गाउँसम्म पुर्‍याउने, स्थानीय पाठक तथा साहित्यप्रेमीलाई स्रष्टासँग जोड्ने र नयाँ पुस्तामा साहित्यप्रतिको रुचि बढाउने कार्यक्रमको उद्देश्य रहेको आयोजकले जनाएको छ।

धनलक्ष्मी–यशोदा वाङ्मय पुरस्कार नेपाली भाषा, कला र साहित्यका क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने स्रष्टालाई सम्मान गर्ने उद्देश्यले स्थापना गरिएको हो। स्वर्गीय धनपति खतिवडा तथा उनका दुई धर्मपत्नी लक्ष्मीदेवी खतिवडा र यशोदा खतिवडाको स्मृतिमा परिवारका सदस्यहरूको संयुक्त पहलमा पुरस्कार कोष स्थापना गरिएको हो। यस पुरस्कारमार्फत हरेक वर्ष एक जना स्रष्टालाई सम्मान गरिँदै आएको छ।

यस वर्षको कार्यक्रमले पुरस्कार वितरण र स्रष्टा सम्मानसँगै कविता, संगीत र साहित्यिक संवादलाई गाउँस्तरमा पुर्‍याउने आयोजकको विश्वास छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka