भोजपुर । पूर्वी नेपालको आकर्षक पर्यटकीय गन्तव्य मुन्दुम पदमार्गमा पर्यटकको आगमन बढ्न थालेको छ । अनुकूल मौसम र प्राकृतिक सौन्दर्यको अवलोकनका लागि उपयुक्त समय भएकाले पछिल्लो समय आन्तरिक तथा विदेशी पर्यटकको चहलपहल बढेको हो ।
पर्यटकको सङ्ख्या बढेसँगै पदमार्ग आसपासका होटल तथा पर्यटन व्यवसायसमेत चलायमान बनेका छन् । विशेषगरी चखेवा क्षेत्रमा पर्यटकको चाप बढेको स्थानीय होटल व्यवसायी नवराज काङमाङले बताए ।
उनका अनुसार चखेवा क्षेत्रबाट मात्रै दैनिक औसतमा १५० देखि २०० जनासम्म पर्यटक मुन्दुम पदमार्गको यात्रामा निस्कने गरेका छन् । पर्यटकको आगमन बढेपछि चखेवाका १६ वटा होटल भरिभराउ हुने गरेका छन् । पदयात्रामा आउने पर्यटकका कारण होटलमा बस्ने र खाना खाने ग्राहकसमेत बढेको उनले बताए ।
पर्यटकको चहलपहलले होटल व्यवसायसँगै स्थानीय उत्पादनको बिक्रीमा पनि सकारात्मक प्रभाव पारेको छ । पदयात्रामा आउने पर्यटकले स्थानीय होटलमा बास बस्ने, खाना खाने र आवश्यक सामग्री खरिद गर्ने गरेका छन् । यसले स्थानीय कृषिउपज तथा घरेलु उत्पादनको बजार विस्तारमा सहयोग पुगेको व्यवसायी काङमाङको भनाइ छ ।
उनका अनुसार भदौदेखि मङ्सिरसम्म र चैतदेखि साउनसम्म मुन्दुम पदमार्गमा पर्यटकको आगमन बढी हुने गरेको छ । अनुकूल मौसममा पदयात्रा गर्न सहज हुने र प्राकृतिक दृश्यको अवलोकन गर्न पाइने भएकाले यी समयमा पर्यटकको आकर्षण बढ्ने गरेको उनले बताए ।
टेम्केमैयुङ गाउँपालिका अध्यक्ष सरोज बस्नेतले मुन्दुम पदमार्गलाई गाउँपालिकाको महत्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य राखिएको बताए । प्राकृतिक सौन्दर्य, मौलिक संस्कृति र ऐतिहासिक पहिचान बोकेको यस क्षेत्रको योजनाबद्ध विकासमार्फत स्थानीय अर्थतन्त्र बलियो बनाउने गाउँपालिकाको योजना रहेको उनको भनाइ छ ।
पदमार्गको राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार गर्नेसँगै आवश्यक पर्यटकीय पूर्वाधार निर्माणलाई प्राथमिकता दिइएको अध्यक्ष बस्नेतले बताए । पर्यटकको सहज र सुरक्षित यात्राका लागि पदमार्ग संरक्षण, सरसफाइ, आवागमनमा सहजता र पर्यटकमैत्री सेवा विस्तारमा ध्यान दिइएको उनले जानकारी दिए ।
‘मुन्दुम पदमार्गको यात्रा गर्ने पर्यटकको सङ्ख्या बर्सेनि बढ्दै गएको छ’, उनले भने, ‘यहाँ आउने पर्यटकको सहज र सुरक्षित यात्राका लागि गाउँपालिकाले आवश्यक ध्यान दिएको छ ।’
मुन्दुम पदमार्ग प्राकृतिक, सांस्कृतिक र धार्मिक महत्व बोकेको क्षेत्र हो । यहाँबाट पूर्वी पहाडका रमणीय डाँडाकाँडा, हरियाली वनजङ्गल, गुराँसका क्षेत्र तथा विभिन्न हिमशृङ्खलाको अवलोकन गर्न सकिन्छ । किरात सभ्यता, संस्कृति र मुन्दुम परम्परासँग जोडिएका मौलिक पक्षले पनि यस पदमार्गलाई विशिष्ट पहिचान दिएका छन् ।
गाउँपालिका उपाध्यक्ष रमादेवी राईले पर्यटन विकासले स्थानीय नागरिकको आयआर्जन बढाउन महत्वपूर्ण भूमिका खेल्ने बताइन् । पर्यटकको आगमन बढ्दा होटल तथा खाना पसल सञ्चालनका अवसर सिर्जना हुनुका साथै स्थानीय उत्पादनको बजारीकरणमा समेत सहयोग पुग्ने उनको भनाइ छ ।
पर्यटनलाई स्थानीय उत्पादन र रोजगारीसँग जोड्न सके गाउँपालिकाका नागरिकले आफ्नै क्षेत्रमा आम्दानीका अवसर पाउने उनले बताइन् ।
मुन्दुम पदमार्गका तावाभञ्ज्याङ, चखेवा, टेम्केडाँडा, मैयुङडाँडा, साल्पा पोखरी र सिलिचुङ चुचुरो पर्यटकका प्रमुख आकर्षण हुन् । मौसम खुलेका बेला यहाँबाट देखिने हिमाली दृश्य, अग्ला डाँडाकाँडा र प्राकृतिक वातावरणले पर्यटकलाई आकर्षित गर्ने गरेको छ । पदयात्राका क्रममा स्थानीय रहनसहन, संस्कृति र परम्परालाई नजिकबाट बुझ्न पाउनु पनि यस क्षेत्रको विशेषता हो ।
पर्यटकलाई स्थानीय उत्पादन र परिकारसँग परिचित गराउन सके कृषिउपज, परम्परागत खाना तथा घरेलु सामग्रीको बिक्री थप बढाउन सकिने गाउँपालिकाको अपेक्षा छ ।
पर्यटकको सुविधाका लागि पदमार्ग क्षेत्रमा खानेपानी, शौचालय, विश्रामस्थल र सूचना पाटी निर्माण तथा पदमार्गको मर्मतसम्भारका काम भइरहेका छन् । सुरक्षित आवागमन र पर्यटकीय सेवा विस्तारका लागि स्थानीय तह, पर्यटन व्यवसायी तथा समुदायबीच समन्वय गरेर काम भइरहेको गाउँपालिकाले जनाएको छ ।
पर्यटकको बढ्दो आकर्षणलाई स्थानीय रोजगारी र आर्थिक गतिविधिसँग जोड्दै मुन्दुम पदमार्गलाई थप व्यवस्थित तथा स्थापित पर्यटकीय गन्तव्य बनाउने चुनौती र अवसर दुवै रहेको छ ।
