विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र नेपालका लागि स्विट्जरल्यान्डका राजदूत डा. ड्यानियल म्युवलीबीच भेटवार्ता भएको छ।
मंगलबार विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा दुईपक्षीय हित, आपसी सहकार्य र विकास सहयोगका विषयमा छलफल भएको हो।
भेटका क्रममा मुख्यमन्त्री कार्कीले कोशी प्रदेशमा स्विस सरकारले पदमार्ग निर्माण, व्यवस्थापन तथा शासकीय सुधारका क्षेत्रमा पुर्याएको सहयोगको प्रशंसा गरे। उनले आगामी दिनमा विपद् व्यवस्थापन र जलवायु परिवर्तनबाट उत्पन्न समस्या न्यूनीकरणका लागि थप सहकार्य गर्न आग्रह गरे।
मुख्यमन्त्री कार्कीले कोशी प्रदेशको आर्थिक समृद्धिका लागि प्रदेश सरकारले विभिन्न विकास परियोजनालाई तीव्र गतिमा अघि बढाइरहेको र तिनको प्रगति उत्साहजनक रहेको बताए।
जवाफमा स्विस राजदूत म्युवलीले प्रदेशको विकास र समृद्धिका लागि सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाए। उनले सञ्चालित कार्यक्रमहरूको समीक्षा गर्दै आगामी दिनमा सहकार्यलाई थप प्रभावकारी बनाउने बताए।
भेटमा स्विस सरकार विकास सहयोगका प्रमुख म्याथियास मायर, कोशी प्रदेशका प्रमुख सचिव नारायणप्रसाद भट्ट, प्रदेश योजना आयोगका उपाध्यक्ष तारानाथ निरौला, मुख्य न्यायाधिवक्ता नारायण बस्ती, आर्थिक सल्लाहकार मोहन सुवेदी र प्रेस सल्लाहकार विक्रम लुइटेललगायतको उपस्थिति थियो।
