Premier Cables
Premier Steel

स्वास्थ्य

विराट मेडिकलमा मंसिर १० देखि शल्यचिकित्सकहरूको राष्ट्रिय सम्मेलन

Hamro Biratnagar News Channel Calendar मंगलबार, मंसिर ०८, २०८३  | साँझ ५:४६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । नेपाल शल्यचिकित्सक समाज (एसएसएन) को १५औँ राष्ट्रिय सम्मेलन विराटनगरमा आयोजना हुने भएको छ। मंसिर १० देखि १२ गतेसम्म विराट मेडिकल कलेज टिचिङ अस्पतालमा सम्मेलन हुन लागेको हो।

‘एसएसएनकन २०२६’ नाम दिइएको सम्मेलन नेपाल शल्यचिकित्सक समाजको कोशी प्रदेश शाखाको आयोजना तथा केन्द्रीय समाज र काठमाडौंको सहकार्यमा हुन लागेको हो। आयोजकका अनुसार कोशी प्रदेशमा करिब दुई दशकपछि शल्यचिकित्सकहरूको राष्ट्रिय सम्मेलन हुन लागेको हो।

विज्ञापन

‘शल्यचिकित्सामा उत्कृष्टताको अभिवृद्धि : नवप्रवर्तन, प्रविधि र सहकार्य’ भन्ने नाराका साथ आयोजना हुने सम्मेलनमा नेपालसहित विभिन्न देशका शल्यचिकित्सक, अनुसन्धानकर्ता, प्राध्यापक तथा प्रशिक्षार्थी चिकित्सक सहभागी हुनेछन्।

सम्मेलनमा शल्यचिकित्साका नयाँ प्रविधि, कम चिरफारबाट गरिने उपचार पद्धति तथा बिरामी सेवामा सुधारका विषयमा छलफल र अनुभव आदानप्रदान गरिनेछ।

सम्मेलनअन्तर्गत मंसिर १० गते तीनवटा पूर्वसम्मेलन कार्यशाला सञ्चालन हुनेछन्। इन्डोस्कोपी, कोलोनोस्कोपी, हर्नियाको शल्यक्रिया तथा मलद्वारसम्बन्धी रोगको उपचारमा व्यावहारिक तालिम दिइने आयोजकले जनाएको छ। साथै पेटको क्यान्सर र कलेजोको शल्यक्रियाको तयारीबारे विज्ञहरूसँग अन्तरक्रिया हुनेछ।

मंसिर ११ र १२ गते मुख्य वैज्ञानिक कार्यक्रम सञ्चालन हुनेछ। कार्यक्रममा अनुसन्धानपत्र तथा ई–पोस्टर प्रस्तुति, विशेषज्ञका प्रवचन र अन्तरक्रियात्मक सत्र रहनेछन्। हर्निया, आन्द्रा, पेट, कलेजो, प्यान्क्रियाज, कोलोरेक्टल, स्तन, युरोलोजी र न्युरोसर्जरीलगायतका विषयमा छलफल हुनेछ। चिकित्सा शिक्षामा कृत्रिम बौद्धिकता (एआई) को प्रयोग पनि सम्मेलनको प्रमुख विषय रहनेछ।

त्यसैगरी, सम्मेलनमा युवा सर्जन र आवासीय चिकित्सकका लागि ‘एमएसएस सिम्पोजियम’ आयोजना गरिनेछ। उत्कृष्ट अनुसन्धान तथा उत्कृष्ट पोस्टर प्रस्तुतिलाई पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।

सम्मेलनमा नेपाल, भारत, बंगलादेश, पाकिस्तान, अफगानिस्तान, जापान, फिलिपिन्स, यूएई र मलेसियाका चिकित्सकको सहभागिता रहनेछ। विदेशी विशेषज्ञबाट नयाँ प्रविधि र अनुसन्धानबारे जानकारी लिनुका साथै नेपाली शल्यचिकित्सकबीच सहकार्य विस्तार गर्ने सम्मेलनको उद्देश्य रहेको आयोजकले जनाएको छ।

सम्मेलन विराट मेडिकल कलेज टिचिङ अस्पतालमा हुनेछ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka