विराटनगर । नेपाली कांग्रेस मोरङ क्षेत्र नं. ६ को क्षेत्रीय सभापति पदका उम्मेदवार चुमनारायण तवदारले आफू कुनै गुटको नभई सबैको साझा सभापति बन्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
तवदारले विराटनगरमा पत्रकार सम्मेलन गरी आफ्नो उम्मेदवारी कुनै पद वा प्रतिष्ठाका लागि नभई पार्टी संगठनलाई बलियो बनाउन, आन्तरिक एकता सुदृढ गर्न र कांग्रेसलाई जनतासँग नजिक जोड्नका लागि भएको स्पष्ट पार्नुभएको छ।
उहाँले जारी गर्नु भएको विज्ञप्तिमा पार्टीभित्र कसैलाई पाखा नलगाई अग्रजहरूको अनुभव र नयाँ पुस्ताको ऊर्जालाई जोडेर अघि बढ्ने बताउनुभएको छ। साथै, युवाहरूलाई नीति, विचार र संगठनसँग जोड्दै नेतृत्व विकासका अवसर सिर्जना गर्ने उहाँको योजना छ।
कांग्रेस निर्वाचनका बेला मात्र नभई वर्षभरि नै जनताका सुख-दुःख, विकास र सुशासनका सवालमा साथमा रहनुपर्नेमा जोड दिँदै तवदारले क्षेत्र नं. ६ मा कांग्रेसलाई जनताको भरोसायोग्य संगठन बनाउने दाबी गर्नुभयो। पार्टीभित्र क्रियाशील सदस्यता, जिम्मेवारी बाँडफाँट र उम्मेदवार सिफारिसमा योगदान, योग्यता र निष्ठालाई मुख्य आधार बनाइनुपर्ने उहाँको भनाइ छ।
यसैगरी, क्षेत्रीय पार्टी कार्यालय भवन निर्माणलाई उहाँले आफ्नो प्रमुख प्राथमिकतामा राख्नुभएको छ। यसअघि नै पार्टी कार्यालयका लागि आफ्नै जग्गा निःशुल्क उपलब्ध गराइसकेको स्मरण गराउँदै तवदारले निर्वाचित भएपछि उक्त जग्गामा व्यवस्थित भवन निर्माण गरी आफ्नै कार्यालयबाट क्षेत्रीय संगठन सञ्चालन गर्ने प्रतिबद्धता जनाउनुभयो।
“हामी व्यक्तिका लागि होइन, पार्टीका लागि एक ठाउँमा उभिऔँ,” भन्दै तवदारले मोरङ क्षेत्र नं. ६ मा गुट र विभाजनभन्दा माथि उठेर एकता र संगठन निर्माणमा जुट्न सम्पूर्ण नेता, कार्यकर्ता तथा क्षेत्रीय प्रतिनिधिहरूलाई आह्वान गर्नुभएको छ।
