Premier Cables

विराटनगर

पूरा भयो तयारी: खटदेखि ९५ औँ राधाकृष्ण रथयात्रा सम्मको नालीबेली

सन्तोष बास्तोला

Hamro Biratnagar News Channel Calendar बुधबार, भाद्र १७, २०८३  | अपराह्न ३:५० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । विराटनगरको ऐतिहासिक एवं धार्मिक पहिचान बोकेको ९५औँ राधाकृष्ण रथयात्राको तयारी पूरा भएको छ। आगामी भदौ २० गते विराटनगर महानगरपालिका–१ स्थित तीनपैनी चोकबाट भव्य रूपमा रथयात्रा निकालिने आयोजक श्री राधाकृष्ण रथ यात्रा समारोह  समितिले जनाएको छ।

रथयात्राको तयारीबारे बुधबार पत्रकार सम्मेलन गर्दै आयोजक समितिले नेपालका विभिन्न स्थानसँगै भारतलगायत अन्य मुलुकबाट समेत गरी ५ लाखभन्दा बढी भक्तजन तथा श्रद्धालु रथयात्रामा सहभागी हुने तथा अवलोकनका लागि आउने अपेक्षा गरिएको जनाएको हो।

विज्ञापन

विराटनगरको राधाकृष्ण रथयात्रा केवल धार्मिक उत्सव मात्र नभई सहरको ऐतिहासिक, सांस्कृतिक र सामाजिक पहिचानसँग जोडिएको पर्वका रूपमा स्थापित हुँदै आएको छ। आयोजक तथा विभिन्न सञ्चारमाध्यमका अनुसार यसलाई भारतको ओडिसास्थित जगन्नाथपुरीको रथयात्रापछि दक्षिण एसियाकै दोस्रो ठूलो रथयात्राका रूपमा दाबी गरिँदै आएको छ।

विराटनगरमा राधाकृष्णको धार्मिक यात्रा सुरु भएको इतिहास झण्डै एक शताब्दी पुरानो छ। विक्रम संवत् १९८८ सालमा विराटनगर–१ मा राधाकृष्ण मन्दिर स्थापना भएपछि श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट राधाकृष्णको युगल मूर्तिलाई खटमा राखेर नगर परिक्रमा गराउने परम्परा सुरु भएको थियो।

सुरुमा खटयात्राका रूपमा रहेको यो परम्परा २०२२ सालदेखि बयलगाडामा र २०२५ सालदेखि भने व्यवस्थित रथ निर्माण गरेर रथयात्राका रूपमा अघि बढाइएको इतिहास छ। विराटनगरका भूपालमानसिंह कार्की र सत्यनारायण धनावतको पहलमा २०२५ सालमा रथ निर्माण भएपछि रथयात्राले नयाँ स्वरूप पाएको थियो।

यसरी हेर्दा राधाकृष्णको खटयात्राको परम्परा ९५ वर्ष पुगेको छ भने रथयात्राको स्वरूपमा निकालिन थालेको ५८ वर्ष पुगेको छ।

२०२५ सालमा निर्माण गरिएको पुरानो रथ लामो समयसम्म प्रयोग भएपछि जीर्ण बनेको थियो। श्रद्धालुले रथमा विराजमान राधाकृष्णको दर्शन गर्न कठिनाइ भएको गुनासोसमेत आएपछि विराटनगर महानगरपालिका र राधाकृष्ण मन्दिर व्यवस्थापन समितिको संयुक्त लगानीमा नयाँ रथ निर्माण गरिएको हो।
नयाँ रथ प्यागोडा शैलीमा निर्माण गरिएको छ। यसअघि प्रयोग हुँदै आएको रथभन्दा नयाँ रथ ठूलो तथा आकर्षक बनाइएको आयोजकले जनाएको छ। यसअघि निर्माण गरिएको रथ ५७ वर्षसम्म प्रयोग भएको थियो।

भदौ २० गते तीनपैनीबाट सुरु हुने रथयात्राले विराटनगरका प्रमुख बजार तथा सडक क्षेत्रको करिब ९ किलोमिटर दूरी तय गर्नेछ। रथ तीनपैनी, मेनरोड, ट्राफिक चोक, रोडशेष चोक, महेन्द्र चोक, धरान रोड, बरगाछी हुँदै पुनः राधाकृष्ण मन्दिर परिसरमा पुगेर समापन हुनेछ। विगतका वर्षमा पनि यही आसपासको मार्गबाट रथयात्रा सञ्चालन हुँदै आएको छ।

भक्तजनलाई सहज रूपमा दर्शन तथा पूजा गर्ने व्यवस्था मिलाउन यस वर्ष ४४ स्थानमा विश्रामस्थल निर्माण गरिने मन्दिर समितिले जनाएको छ। यसअघि ४३ स्थानमा विश्रामको व्यवस्था हुँदै आएको थियो।
रथयात्राको व्यवस्थापनका लागि मन्दिर समितिले रथ मार्ग निर्देशन, सुरक्षा, नियन्त्रण तथा सम्प्रेषणलगायत विभिन्न जिम्मेवारी समेटेर २१ वटा उपसमिति गठन गरेको जनाएको छ। कैलाश रेग्मीको अध्यक्षतामा कुल १ हजार १ सदस्यीय मूल समिति निर्माण गरिएको छ।

रथयात्रामा डिजे प्रयोगमा रोक लगाइएको छ ।

यस वर्ष रथयात्राका क्रममा संकलन हुने दान रकम बाढीपीडितको सहयोगमा खर्च गरिने आयोजकले जनाएको छ। विगतका वर्षमा दानपेटिकामा करिब २ लाख रुपैयाँसम्म संकलन हुने गरेको भए पनि यसपटक देशमा देखिएको विपद्को अवस्थालाई ध्यानमा राख्दै भक्तजनलाई आफ्नो इच्छाअनुसार सक्दो सहयोग गर्न समितिले आग्रह गरेको छ।

रथयात्रा व्यवस्थापन समितिका अध्यक्ष कैलाश रेग्मीले यस वर्ष विगतभन्दा अझ व्यवस्थित र भव्य रूपमा रथयात्रा सञ्चालन गर्ने तयारी भएको बताए। प्रशासनको निर्देशनअनुसार यसपटक रथयात्रामा डिजे प्रयोगमा रोक लगाइएको उनले जानकारी दिए।

समितिका सचिव कृष्ण कार्कीले राधाकृष्ण रथयात्रा विराटनगरको मात्र नभई समग्र देशकै गौरव र सांस्कृतिक सम्पदा भएकाले यसको ऐतिहासिक महत्वलाई देश तथा विदेशमा पुर्‍याउन सबै पक्षले सहयोग गर्नुपर्ने बताए।

लाखौँ भक्तजन सहभागी हुने रथयात्रालाई सुरक्षित र व्यवस्थित बनाउन मोरङ प्रहरीले विशेष सुरक्षा योजना तयार गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार रथयात्राका क्रममा नेपाल प्रहरीतर्फबाट करिब ९ सय सुरक्षाकर्मी परिचालन गरिनेछ।

प्रहरीले रथयात्रामा सहभागी हुने भक्तजनलाई भीडभाडमा महँगा गरगहना नलगाउन, बालबालिका तथा ज्येष्ठ नागरिकलाई सुरक्षित स्थानमा राखेर रथको अवलोकन गर्न र शंकास्पद गतिविधि देखिए तत्काल सुरक्षाकर्मीलाई जानकारी गराउन आग्रह गरेको छ।

यस वर्ष रथयात्राको उद्घाटनका लागि प्रधानमन्त्री बालेन्द्र साहलाई प्रमुख अतिथिका रूपमा ल्याउने तयारी गरिएको थियो। तर भोटेकोशी नदीमा आएको बाढी तथा उत्पन्न विपद्को अवस्थाका कारण प्रधानमन्त्री साहको सहभागिता सम्भव नभएपछि कोशी प्रदेशका मुख्यमन्त्री र विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले संयुक्त रूपमा रथयात्राको उद्घाटन गर्ने कार्यक्रम तय भएको आयोजकले जनाएको छ।
हरेक वर्ष श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट विराटनगरमा निकालिने राधाकृष्ण रथयात्रामा मोरङ, सुनसरीलगायत कोशी प्रदेशका विभिन्न जिल्लासँगै सीमावर्ती भारतीय क्षेत्रबाट समेत ठूलो संख्यामा श्रद्धालु सहभागी हुँदै आएका छन्।

विराटनगरको धार्मिक तथा सांस्कृतिक पर्यटनसँग समेत जोडिएको यो रथयात्रा पछिल्ला वर्षमा विराटनगरको छुट्टै पहिचानका रूपमा स्थापित हुँदै गएको छ। करिब एक शताब्दी लामो खटयात्राको परम्परालाई निरन्तरता दिँदै आधुनिक रथसहित अघि बढिरहेको राधाकृष्ण रथयात्राले यस वर्ष ९५औँ ऐतिहासिक यात्रा पूरा गर्दैछ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka