काठमाडौं । रसुवामा आएको भीषण बाढीबाट प्रभावित परिवारका लागि विराटनगरस्थित शारदा ग्रुप र जाजु ग्रुपले संयुक्त रूपमा राहत सामग्री उपलब्ध गराउने घोषणा गरेका छन्।
कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमार्फत बाढीपीडितका लागि एक लाख प्याकेट रमपम तयारी चाउचाउ, एक लाख प्याकेट गुडलाइट बिस्कुट र एक लाख प्याकेट गुडलाइट जुस उपलब्ध गराउने निर्णय गरेको हो।
एशियन थाई फुडद्वारा उत्पादित उक्त खाद्य सामग्री राहतस्वरूप उपलब्ध गराउने निर्णय आज गरिएको कम्पनीका ब्रान्ड म्यानेजर बसन्तमान श्रेष्ठले नेपालबहसलाई जानकारी दिए।
श्रेष्ठका अनुसार राहत सामग्रीको अनुमानित मूल्य करिब ६० लाख रुपैयाँ बराबर रहेको छ। बाढी तथा प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकलाई तत्काल खाद्यान्न तथा आवश्यक सामग्री उपलब्ध गराउने उद्देश्यले राहत घोषणा गरिएको उनले बताए।

जाजु ग्रुप र शारदा ग्रुप प्रतिष्ठित व्यावसायिक घरानाका रूपमा परिचित छन्। पछिल्लो समय रसुवालगायत बाढी प्रभावित क्षेत्रमा राहत तथा पुनःस्थापनाका लागि विभिन्न निजी क्षेत्रका संघ–संस्था तथा व्यवसायिक समूहले सहयोग घोषणा गरिरहेका छन्।
रसुवामा तिब्बततर्फबाट भोटेकोशी नदीमा आएको ठूलो बाढीका कारण जनधनको क्षति भएको छ। बाढीबाट प्रभावित नागरिकका लागि सरकार तथा विभिन्न संघ–संस्थाले राहत तथा उद्धारलाई तीव्रता दिइरहेका छन्।
