Premier Cables
Premier Steel

अर्थ

अरुतिर कार्यान्वयनमा गइसक्दा धरानमा बल्ल आयो बजेट

Hamro Biratnagar News Channel Calendar सोमबार, भाद्र ०१, २०८३  | बिहान ८:३३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । धरान उपमहानगरपालिकाले निर्धारित समयभन्दा डेढ महिना ढिला गरी आर्थिक वर्ष २०८३/८४ को बजेट ल्याएको छ ।

बिहीबार आयोजित १९औं नगर सभामा कार्यवाहक नगर प्रमुख अइन्द्रविक्रम बेघाले आगामी आर्थिक वर्षका लागि २ अर्ब ७६ करोड १९ लाख २७ हजार रुपैयाँको बजेट प्रस्तुत गरेकामा नगर सभाले पारित गरेको हो ।

बिज्ञापन

नगर सभाबाट बजेट, नीति तथा कार्यक्रम पारित भएसँगै धरान उपमहानगरले ‘बजेट होलिडे’बाट निकास पाएको छ । स्थानीय तहले प्रत्येक आर्थिक वर्षको बजेट असार १० गतेभित्र नगर सभामा पेस गर्नुपर्ने कानुनी व्यवस्था भए पनि बजेटसम्बन्धी विवादका कारण धरानको बजेट समयमा प्रस्तुत हुन सकेको थिएन ।

बजेटमा धरानको सडक तथा भौतिक पूर्वाधार, दीर्घकालीन खानेपानी समस्या समाधान, शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, रोजगारी र विपद् व्यवस्थापनलाई मुख्य प्राथमिकतामा राखेको छ । बजेटमा सहरी योजना तथा भौतिक पूर्वाधार विकासतर्फ ९९ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ। त्यसमध्ये खाल्डा खुल्डीमुक्त नगर कार्यक्रममा ४ करोड, भानुचोक सौन्दर्यीकरण, स्थायी स्टेज निर्माणमा १ करोड, धरान सभागृह निर्माणका लागि २ करोड रुपैयाँ छुटाइएको छ।

शिक्षा, युवा तथा खेलकुदमा ४९ करोड ८६ लाख ८२ हजार रुपैयाँ विनियोजन गरिएको छ। संघ तथा प्रदेश सरकारको ससर्त अनुदानसहितको उक्त बजेटबाट शैक्षिक तथा खेलकुद कार्यक्रम सञ्चालन गरिने छ। एउटा सामुदायिक विद्यालयलाई स्कुल बस उपलब्ध गराउने कार्यक्रमसमेत बजेटमा समेटिएको छ।

स्वास्थ्यतर्फ १२ करोड ४५ लाख रुपैयाँ विनियोजन गरिएको छ। ससर्त अनुदानबाट ९ करोड ३३ लाख, धरान अस्पताल सञ्चालनका लागि २ करोड र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग सहकार्य गर्ने कार्यक्रमका लागि ५० लाख रुपैयाँ छुटाइएको छ।

सामाजिक विकासमा आन्तरिक स्रोतबाट १० करोड ४ लाख विनियोजन गरिएको छ। सुकुम्वासी व्यवस्थापनमा ५० लाख, सिटी सफारी तथा ट्याम्पो चालकको दुर्घटना सहयोग कोष २० लाख, सडक मानव व्यवस्थापन, खेलकुद, बाँदर नियन्त्रणमा १० लाख, विपन्न परिवारका सदस्यको दाहसंस्कारका साझेदारीमा १० लाख, लैङ्गिक समानता र समावेशीकरण कार्यक्रममा १ करोड ५ लाख बजेट छुट्याइएको छ ।

आर्थिक विकासमा ६ करोड ८० लाख रुपैयाँ विनियोजन गरिएको छ। सङ्कटग्रस्त सहकारी व्यवस्थापनका लागि ५ करोड रुपैयाँ छुट्याइएको छ ।

वन, वातावरण, ऊर्जा तथा विपद् व्यवस्थापनतर्फ ३ करोड ९५ लाख ७५ हजार रुपैयाँ विनियोजन गरिएको छ। विपद् व्यवस्थापन कोषका लागि २ करोड रुपैयाँ छुट्याइएको छ। बजेटमा कानुन तथा न्याय सम्पादनतर्फ आन्तरिक स्रोतबाट २० लाख विनियोजन भएको छ ।

यस्तै धरानको खानेपानी समस्यालाई दीर्घकालीन समाधान गर्न चतरा कोशी नदीबाट पानी आपूर्ति गर्न संघीय सरकारको सहयोगमा अघि बढ्ने भएको छ । यस साझेदारीका लागि आन्तरिक स्रोतबाट ३ करोड ११ लाख रुपैयाँ विनियोजन गरिएको छ।

यसैगरी बजेटमा राजश्व सुधार तथा संस्थागत क्षमता विकास र स्थलगत सूचना संकलन गर्न आन्तरिक स्रोतबाट पूर्ति हुने गरी ५३ लाख विनियोजन भएको छ । नगर भिजनतर्फ ३ करोड विनियोजन गरिएको छ ।

धरानका २० वटै वडाका लागि प्रशासनिक, कार्यक्रम तथा पुँजीगत खर्चतर्फ २८ करोड ७० लाख ९४ हजार रुपैयाँ विनियोजन गरिएको छ । विगत आर्थिक वर्षको तुलनामा ५ करोड रुपैयाँ थप गरी वडागत बजेट २६ करोड कायम गरिएको र गत आर्थिक वर्षको भुक्तानी दिन बाँकी दायित्वसमेत समेटेर कुल विनियोजन २८ करोड ७० लाख ९४ हजार रुपैयाँ पुर्‍याइएको बजेट वक्तव्यमा उल्लेख छ ।

नगर कार्यपालिकातर्फ विनियोजन हुने बजेटमध्ये नगर सभाबाट विनियोजन हुने निश्चित बजेट १ अर्ब ५२ करोड ६० लाख ६१ हजार रुपैयाँ रहेको छ । सशर्त अनुदानबाट ९२ करोड ९७ लाख ४२ हजार, समपूरक अनुदानबाट १ करोड ५ लाख र विशेष अनुदानबाट ६५ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ । यी स्रोतसमेत जोड्दा नगर कार्यपालिकातर्फ कुल २ अर्ब ४७ करोड ४८ लाख ३३ हजार रुपैयाँको बजेट कायम गरिएको छ ।

नगर सभामा धरान उपमहानगरपालिकाको अघिल्लो आर्थिक वर्ष २०८२/८३ को खर्च प्रगतिसमेत प्रस्तुत गरिएको छ । संशोधनसहित २ अर्ब ३४ करोड ७ लाख ६३ हजार रुपैयाँ खर्चको अनुमान गरिएकामा असार मसान्तसम्म १ अर्ब ४२ करोड ४५ लाख ९६ हजार २३४ रुपैयाँ खर्च भएको जनाइएको छ ।

यो कुल अनुमानको ६३.५३ प्रतिशत हो । त्यसमध्ये चालुतर्फ ९७ करोड २ लाख ६८ हजार २ सय १७ रुपैयाँ, पुँजीगततर्फ ३९ करोड ८३ लाख २८ हजार १६ रुपैयाँ र वित्तीय व्यवस्थातर्फ ५ करोड ५० लाख रुपैयाँ खर्च भएको कार्यवाहक नगर प्रमुख बेघाले बताए ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa