काठमाडौँ | प्रहरीले नियमित गस्तीका क्रममा देशका विभिन्न जिल्लाबाट विभिन्न प्रकारका लागुऔषधसहित २५ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कास्की, मोरङ, सुनसरी, बर्दिया, धनुषा, झापा, ललितपुर, कैलाली, तनहुँ र उदयपुरका व्यक्ति रहेका छन्।
केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार कास्कीको पोखरा महानगरपालिका–१ सिम्पानीबाट टापेन्टाडोलका २२० ट्याब्लेटसहित सन्दिप गुरुङसहित पाँच जना पक्राउ परेका छन्। अनुसन्धानका क्रममा पोखरा–२५ हेम्जास्थित डेराबाट थप ८०० ट्याब्लेट टापेन्टाडोलसहित २१ वर्षीय लुकास तामाङलाई पनि प्रहरीले पक्राउ गरेको छ।
मोरङमा तीन जना पक्राउ परेका छन्। सुन्दरहरैँचा नगरपालिका–५ खोक्सीबाट ३९० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थसहित २२ वर्षीय प्रसान्त मगर, लेटाङ–३ विरनटोलबाट करिब १०० ग्राम गाँजासहित १८ वर्षीय किशोर तथा कानेपोखरी गाउँपालिका–६ नर्सरी डाँडाबाट २ ग्राम ५०० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थसहित २४ वर्षीय निमेस घिमिरे पक्राउ परेका हुन्।
सुनसरीको इटहरी–१० शिवनारायण टोलबाट ५ ग्राम ८५० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थसहित मोहन गुरुङसहित तीन जना पक्राउ परेका छन्। यस्तै, बर्दियाको बढैयाताल–२ बाट करिब ३४९ ग्राम ३६० मिलिग्राम खैरो हेरोइनसहित ५२ वर्षीय दिवे सुनार तथा धनुषाको विदेह–८ बफैबाट ३९ ग्राम ३६० मिलिग्रामसहित २८ वर्षीय उमेश मण्डल पक्राउ परेका छन्।
झापाको बिर्तामोड–३ बाट ४० वर्षीय सन्तोष राजवंशीलाई ४९० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थसहित प्रहरीले पक्राउ गरेको छ।
ललितपुरमा दुई छुट्टाछुट्टै घटनामा तीन जना पक्राउ परेका छन्। ललितपुर महानगरपालिका–२९ हरिसिद्धी गुमथचोकबाट ट्रामाडोल ६० ट्याब्लेट र पोलेन चार ग्रामसहित सुरज तामाङसहित दुई जना तथा महालक्ष्मी नगरपालिका–३ इमाडोलबाट टापेन्टाडोल ७१० ट्याब्लेट र प्रेगाब्लिन २४ ट्याब्लेटसहित २९ वर्षीय खगेन्द्रबहादुर राउत पक्राउ परेका हुन्।
यसैगरी, कैलालीको धनगढी–८ बाट १ ग्राम १३० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थसहित क्रिस बमसहित चार जना, तनहुँको व्यास–९ माझफाँटबाट करिब १ किलो ५५० ग्राम गाँजासहित मनोज थापासहित दुई जना तथा उदयपुरको कटारी–३ बाट टापेन्टाडोल ६१ ट्याब्लेटसहित सलम खानसहित दुई जना पक्राउ परेका छन्।
प्रहरीका अनुसार उनीहरूलाई गत शुक्रबार र शनिबार पक्राउ गरिएको हो। पक्राउ परेकामाथि सम्बन्धित जिल्ला प्रहरी कार्यालयबाट थप अनुसन्धान भइरहेको छ।
