विराटनगर । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज पनि अधिकांश भूभागमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार कोसी र वाग्मती प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा दिउँसो भारी वर्षा हुनसक्नेछ।
दिउँसो देशभर सामान्यतया बदली रहनेछ। कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा थोरै स्थानमा मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको छ।
यस्तै, कोसी र वाग्मती प्रदेशका पहाडी क्षेत्रमा धेरै स्थानमा तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रमा केही स्थानमा मध्यम वर्षा हुनसक्ने विभागले जनाएको छ। तराईका थोरै स्थानमा पनि मध्यम वर्षाको सम्भावना छ।
रातिको समयमा देशभर सामान्यतया बदली रहनेछ। हिमाली तथा पहाडी भूभागका केही स्थानमा मध्यम वर्षा वा हिमपातको सम्भावना छ। कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा केही स्थानमा तथा मधेस र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा थोरै स्थानमा मध्यम वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ।
यसैगरी, राति कर्णाली प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ भने मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा रहेको विभागले जनाएको छ।
