






काठमाडौं । आज देशका विभिन्न स्थानमा वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागका अनुसार दिउँसो देशभर सामान्यतया बदली रहनेछ भने धेरै स्थानमा मध्यम वर्षा र केही स्थानमा भारी वर्षा हुने सम्भावना छ।
वाग्मती र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भूभागका केही स्थानमा तथा अन्य केही स्थानमा मध्यम वर्षा हुन सक्छ। कोसी, वाग्मती, र कर्णाली प्रदेशका पहाडी क्षेत्रहरू र लुम्बिनी प्रदेशका तराई भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
रातिको समयमा कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागमा सामान्य बदली रहनेछ भने बाँकी क्षेत्रहरूमा आंशिक बदली रहने अनुमान गरिएको छ। मधेस, कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी केही स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। साथै, मधेस, कोसी र वाग्मती प्रदेशका पहाडी एक-दुई स्थानमा भारी वर्षा हुन सक्छ।
हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपासमा रहेको छ। साथै, अरब सागर र बंगालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव सक्रिय रहेकोले देशभर वर्षा भइरहेको विभागले जनाएको छ।