विराटनगर । केही दिनदेखि कमजोर बनेको मनसुन अबको सातादेखि सक्रिय हुने भएको छ। जल तथा मौसम विज्ञान विभागले मङ्गलबारपछि देशका विभिन्न क्षेत्रमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको जनाएको छ।
मौसमविद् रोजन लामिछानेका अनुसार सोमबारदेखि मनसुन क्रमशः सक्रिय हुँदै जानेछ भने मङ्गलबारपछि यसको प्रभाव अझ बढ्नेछ। त्यसक्रममा देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङसहित वर्षा हुने र केही क्षेत्रमा धेरै भारी वर्षा हुने सम्भावना रहेको उनले बताए।
विभागका अनुसार आइतबार राति कोशी प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ। साथै, कोशी प्रदेशको तराई र मधेस प्रदेशका केही स्थानमा हावाहुरी चल्ने सम्भावना पनि रहेको छ।
यस्तै, आइतबार सुदूरपश्चिम प्रदेशको तराई तथा लुम्बिनी प्रदेशको पश्चिमी तराई क्षेत्रमा तातो लहर (हिटवेभ) को प्रभाव कायम रहने सम्भावना रहेको विभागले जनाएको छ।
सोमबारदेखि भने देशभर सामान्यदेखि पूर्ण बदली रहने अनुमान गरिएको छ। पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा हुने तथा उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको छ। तराईका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने विभागको पूर्वानुमान छ।
सोमबार रातिदेखि मनसुन थप सक्रिय हुने भएकाले कोशी प्रदेशका पहाडी तथा तराईका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने जनाइएको छ। मधेस प्रदेशका एक–दुई स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको छ।
विभागले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्र तथा मधेस प्रदेशका केही स्थानमा हावाहुरी चल्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।


