विराटनगर । चार दिनअघि सुनसरीको देवानगञ्जमा भएको दुई पक्षबीचको विवाद हिंसात्मक बनेपछि उत्पन्न तनावपूर्ण अवस्था अहिले विस्तारै सामान्य बन्दै गएको छ। स्थानीय प्रशासनका अनुसार प्रभावित क्षेत्रमा सुरक्षा अवस्था सुधारोन्मुख रहेकाले जनजीवन पनि क्रमशः सहज हुन थालेको छ।
सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी पोषण लामिछानेका अनुसार देवानगञ्जसहित इनरुवा, भोक्राहा नरसिंह गाउँपालिका, कोशी गाउँपालिका र हरिनगर गाउँपालिकाको अवस्था बुधबारदेखि उल्लेखनीय रूपमा सुधारिएको छ। हिजोदेखि देखिएको शान्तिपूर्ण वातावरण आज बिहान अझ सुदृढ भएको उनले बताए।
प्रशासनले पूर्व–पश्चिम राजमार्ग क्षेत्रमा भएका अवरोधसमेत हटाइसकेको जनाएको छ। गृह मन्त्रालयद्वारा गठित छानबिन समितिले घटनाको अनुसन्धान अघि बढाएको छ भने स्थानीय प्रशासनले सर्वपक्षीय बैठकमार्फत सबै समुदायलाई संयमता अपनाउन र सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न आग्रह गरेको छ।
यद्यपि, अवस्था सुधारोन्मुख भए पनि सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै प्रभावित क्षेत्रमा जारी कर्फ्यु भने अझै हटाइएको छैन।
गत आइतबार राति भएको झडपका क्रममा प्रहरीको गोली लागेर देवानगञ्ज गाउँपालिका–४ का २५ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो। उक्त घटनामा कम्तीमा २१ जना घाइते भएका थिए, जसमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जनाइएको छ। प्रशासनले घटनाको निष्पक्ष छानबिन गर्दै शान्ति र सुरक्षा कायम राख्न सबै पक्षलाई सहयोग गर्न आग्रह गरेको छ।
