विराटनगर | सुनसरीको देवानगञ्जमा भएको घटनापछि जिल्लामा बढ्दो तनावका बीच सामाजिक सद्भाव र शान्तिको सन्देश प्रवाह गर्न सुनसरीको दुहबीमा मंगलबार सद्भाव र्याली आयोजना गरिएको छ।
सुनसरीका विभिन्न सामाजिक संघसंस्थाको अगुवाइमा साउन १२ गते बिहान आयोजित र्यालीमा सहभागीहरूले राष्ट्रिय झण्डा बोकेर नगर परिक्रमा गरेका थिए। सहभागीहरूले सबै जातजाति, धर्म, भाषा र समुदायबीच आपसी भाइचारा, सहिष्णुता र एकता कायम राख्नुपर्नेमा जोड दिएका थिए।
आयोजकका अनुसार पछिल्ला घटनाका कारण समाजमा विभाजन र अविश्वास बढ्न नदिन तथा शान्तिपूर्ण वातावरण कायम राख्ने उद्देश्यले र्याली आयोजना गरिएको हो।
गत साउन १० गते राति सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा दुई समूहबीच भएको झडप नियन्त्रणमा लिने क्रममा प्रहरीले चलाएको गोली लागेर स्थानीय २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो। उक्त घटनामा अन्य केही व्यक्ति घाइते भएका छन्। उनीहरूको विराटनगरस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
घटनापछि सुनसरीसहित आसपासका जिल्लामा विरोध प्रदर्शन जारी रहँदा सामाजिक सद्भावमा असर पर्न सक्ने चिन्ता व्यक्त हुँदै आएको छ। यही अवस्थालाई मध्यनजर गर्दै दुहबीमा शान्ति र सामाजिक एकताको सन्देश दिन सद्भाव र्याली आयोजना गरिएको आयोजकले जनाएको छ।
यसअघि जिल्ला सुरक्षा समिति सुनसरीले पनि सबै पक्षलाई संयमता अपनाउन, अफवाहको पछि नलाग्न तथा सामाजिक शान्ति, सद्भाव र सार्वजनिक सुव्यवस्था कायम राख्न आग्रह गरेको थियो।
