सुनसरी–सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्ज बजारमा दुई समुदायबीच भएको झडपमा एक जनाको मृत्यु भएपछि देवानगञ्ज गाउँपालिकाले दुई दिन शोक बिदा दिने निर्णय गरेको छ।
गाउँपालिकाले सोमबार सूचना जारी गर्दै मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। घटनामा देवानगञ्ज गाउँपालिका–४ का ओमप्रकाश मेहताको मृत्यु भएको थियो।
बिज्ञापन
गाउँपालिकाका अध्यक्ष बेचैनप्रसाद मेहताद्वारा जारी सूचनाअनुसार गाउँपालिकाअन्तर्गतका सम्पूर्ण वडा कार्यालय, शैक्षिक संस्था तथा स्वास्थ्य संस्थामा असार ११ र १२ गते शोक बिदा दिइनेछ। अत्यावश्यकबाहेकका स्वास्थ्य सेवा भने सञ्चालनमा रहने जनाइएको छ।
आइतबार राति बोलबम यात्राका क्रममा डिजे बजाएको विषयलाई लिएर सुरु भएको विवाद दुई समुदायबीचको झडपमा परिणत भएको थियो। झडपका क्रममा गोली लागेर मेहताको मृत्यु भएको थियो भने सर्वसाधारण तथा सुरक्षाकर्मीसहित २२ जना घाइते भएका छन्।
घटनापछि जिल्ला प्रशासन कार्यालय सुनसरीले देवानगञ्ज तथा हरिनगरा गाउँपालिकाका पाँच क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ। स्थिति नियन्त्रणमा लिन ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।