विराटनगर । गाँजा मोटरसाइकलमा गाँजा बोकेर भाग्ने क्रममा पोखरीतिर गएका विराटनगरका युवाको शव फेला परेको छ ।
दुई दिनअघि मोरङको विराटनगर महानगरपालिका–१८ भेडियारीमा लागूऔषध गाँजासहित भारतीय नम्बर प्लेटको मोटरसाइकल रोकेर जाँच गर्न खोज्दा चालक फरार हुने क्रममा पोखरीमा डुबेर बेपत्ता भएका थिए । बेपत्ता भएका व्यक्तिको खोजीका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोली परिचालन गरिएको थियो ।
शुक्रबार स्थानीय पोखरीमा विराटनगर–१८ निवासी मञ्जितकुमार यादवको शव पानीमा तैरिरहेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । स्थानीय भेडियारी पोखरीमा डुबेर उनी बेपत्ता भएका थिए । हराएको दिन सशस्त्र र नेपाल प्रहरीले स्थानीयको सहयोगमा उनको खोजी तीव्र बनाएका थिए ।
मोटरसाइकलको पछाडि सवार रहेका भारतको सुपौल जिल्ला, गनौरा पञ्चायत–५ निवासी ४१ वर्षीय शिवधर यादव भने पक्राउ परेका थिए । उनको साथबाट ६ किलो १३० ग्राम गाँजा बरामद भएको थियो ।


