काठमाडौं । प्रधानमन्त्री श्री वालेन्द्र शाहले निर्माण क्षेत्रका विद्यमान समस्या समाधान, निर्माण व्यवसायको प्रवर्द्धन तथा भौतिक पूर्वाधार विकासलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज नेपाल निर्माण व्यवसायी महासंघका पदाधिकारीसँग भएको छलफलमा प्रधानमन्त्री शाहले निर्माण क्षेत्र मुलुकको आर्थिक विकास, रोजगारी सिर्जना र पूर्वाधार निर्माणको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै यस क्षेत्रमा देखिएका व्यावहारिक समस्याको समाधानका लागि सरकार सकारात्मक रहेको बताए।
उनले निर्माण व्यवसायलाई मर्यादित, पारदर्शी, जिम्मेवार र परिणाममुखी बनाउँदै विकास निर्माणका काम समयमै सम्पन्न गर्न सरकार, निजी क्षेत्र तथा सरोकारवालाबीच सक्रिय र प्रभावकारी सहकार्य अपरिहार्य रहेको धारणा राखे।
भेटका क्रममा महासंघका पदाधिकारीहरूले निर्माण क्षेत्रले भोग्दै आएका भुक्तानी, म्याद थप, ठेक्का व्यवस्थापन, समयमै आयोजना कार्यान्वयन, मूल्य समायोजन, बैंकिङ तथा लगानीसम्बन्धी चुनौतीबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए।
उनीहरूले निर्माण उद्योगलाई चलायमान बनाउन सरकार र निजी क्षेत्रबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउँदै नीतिगत तथा व्यावहारिक समस्या समाधानमा विशेष पहल गर्नुपर्ने आवश्यकता औँल्याएका थिए।


