काठमाडौं । नेपालका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच सोमबार नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा द्विपक्षीय भेटवार्ता हुँदैछ। फरक पुस्ता र राजनीतिक पृष्ठभूमिबाट आएका दुई नेताको यो भेटलाई दुवै देशबीचको सम्बन्ध सुधार र सहकार्य विस्तारका दृष्टिले महत्वपूर्ण रूपमा हेरिएको छ।
मोदीले करिब पाँच दशक लामो राजनीतिक यात्रा तय गरेका छन्। गुजरातको मुख्यमन्त्री हुँदै सन् २०१४ मा भारतको प्रधानमन्त्री बनेका उनी अहिले तेस्रो कार्यकालमा छन्। अर्कोतर्फ बालेनले सक्रिय राजनीतिमा प्रवेश गरेको पाँच वर्षमै नेपालको प्रधानमन्त्री बन्ने अवसर पाएका छन्।
संयोग के छ भने, आठ वर्षअघि मात्रै बालेन भारतको कर्नाटकस्थित विश्वेश्वरैया टेक्नोलोजिकल युनिभर्सिटीमा स्ट्रक्चरल इन्जिनियरिङमा स्नातकोत्तर अध्ययन गरिरहेका थिए। अहिले उनी त्यही देशमा नेपालको प्रधानमन्त्रीका रूपमा राजकीय भ्रमणमा पुगेका छन्।
फरक राजनीतिक पृष्ठभूमि, फरक कार्यशैली
बालेन र मोदीको राजनीतिक उदय र कार्यशैलीमा भिन्नता छ। बालेन नयाँ पुस्ताको राजनीतिक विद्रोह र लोकप्रियताको बलमा उदाएका नेता हुन्। २०७९ सालको स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा काठमाडौं महानगरपालिकाको मेयर निर्वाचित भएका उनी पछि राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध भए।
मोदी भने भारतीय जनता पार्टी र राष्ट्रिय स्वयंसेवक संघको संगठनात्मक आधारबाट राष्ट्रिय राजनीतिमा स्थापित भएका नेता हुन्।
बालेन कम बोल्ने र सामाजिक सञ्जालमार्फत आफ्ना धारणा सार्वजनिक गर्ने नेताका रूपमा चिनिन्छन्। मोदी भने सार्वजनिक अभिव्यक्ति र राजनीतिक भाष्य निर्माणमा सक्रिय छन्।
दुवै देशलाई सम्बन्ध सुधारको अवसर
नेपाल र भारतबीच व्यापार, पारवहन, ऊर्जा, पूर्वाधार र जनस्तरको सम्बन्ध निकै महत्वपूर्ण छ। तर विगतमा नाकाबन्दी, सीमा विवाद र अन्य राजनीतिक घटनाक्रमले दुई देशबीच अविश्वास पनि बढाएको छ।
बालेन काठमाडौंको मेयर हुँदा सीमा विवादका बेला आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेका थिए। भारतीय फिल्म ‘आदिपुरुष’ मा समावेश संवादलाई लिएर काठमाडौंमा प्रदर्शन रोक्ने निर्णयसमेत गरेका थिए।
यस्तो पृष्ठभूमिबाट प्रधानमन्त्री बनेका बालेनका लागि भारत भ्रमण द्विपक्षीय सम्बन्धमा नेपालको राष्ट्रिय हित र स्वाभिमानलाई प्राथमिकता दिने अवसरका रूपमा हेरिएको छ।
अर्कोतर्फ मोदीका लागि पनि नेपालसँगको सम्बन्धलाई नयाँ आधारमा अघि बढाउने अवसर छ।
केन्द्रमा आर्थिक र पूर्वाधार सहकार्य
सोमबार हुने भेटवार्तामा व्यापार, लगानी, ऊर्जा, पारवहन, रेलमार्ग, सडक तथा डिजिटल पूर्वाधारलगायत विषय प्राथमिकतामा रहने अपेक्षा गरिएको छ।
यसका साथै विपद् व्यवस्थापन, जलस्रोत, प्रविधि, शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा सहकार्य विस्तारबारे पनि छलफल हुने कार्यक्रम छ।
नेपालका लागि भारत सबैभन्दा ठूलो व्यापारिक साझेदार र महत्वपूर्ण पारवहन मार्ग हो। भारतका लागि पनि नेपाल भौगोलिक, रणनीतिक तथा सांस्कृतिक दृष्टिले महत्वपूर्ण छ।
त्यसैले हैदरावाद हाउसमा हुने बालेन र मोदीबीचको भेट केवल दुई प्रधानमन्त्रीबीचको औपचारिक संवादमा सीमित छैन। यसले आगामी वर्षहरूमा नेपाल–भारत सम्बन्ध कुन दिशामा अघि बढ्छ भन्ने संकेतसमेत दिनेछ।
दुई फरक पुस्ताका नेताबीचको यो भेटबाट हुने सहमति र निर्णयलाई दुवै देशले चासोका साथ हेरिरहेका छन् ।
