Premier Cables
Premier Steel

विराटनगर

कोशी प्रदेशको राजधानीमा धार्मिक पर्यटनः पूर्वाधार निर्माणसँगै बढ्दैछन् पर्यटक

रोहित कुमार लुइँटेल Hamro Biratnagar News Channel Calendar शुक्रबार, असार १२, २०८३  | अपराह्न १:३१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । विराटनगर, नेपालकै जेठो र ऐतिहासिक शहरमध्ये एक हो । मोरङ जिल्लाको प्रमुख व्यापारिक केन्द्रका रूपमा परिचित विराटनगरले विकासको गति निकै चाँडै समात्यो । वरपरका धेरै क्षेत्रमा अवादी शुरु भएकै थिएन तर विराटनगर भने व्यवस्थित सहर बनिसकेको थियो । बसोबासको सुरुवात हुँदै गर्दा विराटनगर भने नेपालकै घना जनसंख्या भएको शहरका रूपमा स्थापित हुँदै थियो ।

बसोबाससँगै यहाँ बढेको चेतना विकासले राजनीतिक नेतृत्व जन्मियो । राजनीतिक, आर्थिक, शैक्षिक, व्यापारिक, बौद्धिक र सांगठानिक क्षेत्रमा यो सहरले देशलाई पटक पटक नेतृत्व दिन पुग्यो । विभिन्न आन्दोलन र परिवर्तनका उतारचढाव यो सहरले पनि देख्यो । यहीबीच जातीय सद्भाव र बहुसांस्कृतिक महत्व विराटनगरको पहिचान नै बन्न पुग्यो । अहिले पनि आवादीयुक्त सहरको रुपमा विराटनगरले धार्मिक संस्कृतिलाई जोगाई राखेकोछ । यो शताब्दी सहर धार्मिक रुपमा पनि उत्तिकै महत्वपूर्ण छ ।

बिज्ञापन

विराट दरबार संरक्षण समितिका सभापति कमलकिशोरा यादव विराटनगरमा धार्मिक पर्यटनको महत्व धेरै रहेको बताउँदै भन्छन्,‘‘विराटकालीन दरबार क्षेत्रको संरक्षण गरेर भएका पुराना बस्तुको संरक्षण र केही नयाँ तथा आधुनिक स्वरुपमा भौतिक पूर्वाधार बनाउने हो भने भारतबाट समेत धर्मालम्बी तथा पर्यटक भित्र्याउन सकिन्छ ।’’ उनले विराट दरबार क्षेत्रमा भएको उत्खनन्लाई अझ निरन्तरता दिँदै अघि बढ्नु पर्ने सुझाव दिएका छन् ।

यो क्षेत्र महाभारतकालीन विराट राजाको दरबार रहेको स्थान हुनसक्ने अनुमान र अनुसन्धानका कयौं प्रयासले आफ्नो नाम नै गोग्राबाट विराटनगर रहन गयो । त्यसपछि तत्कालीन प्रधानमन्त्री चन्द्र शमशेरका छोरा केशर शमशेरले गोग्राहाको नाम परिवर्तन गरी “विराटनगर” राखिदिए ।

कुनैबेला यो क्षेत्र “भेडियारी” नामले समेत परिचित थियो। अनुसन्धानअनुसार पाँच कठ्ठा जमिनमा ठूलो भवन र वरिपरि पोखरी रहेको प्रमाण भेटिएको थियो। विराटनगर आसपास रहेको धनपाल गढीलाई सेन वंशभन्दा अघिको पाल वंशको किल्ला भएको अनुमान गरिन्छ। भेडियारी पतनपछि जंगल फाँडेर विभिन्न ठाउँमा बस्ती विस्तार हुन थालेको इतिहास पाइन्छ।

राणाकालीन, प्रजातान्त्रिक र गणतन्त्र प्राप्तिको आन्दोलनमा पनि विराटनगरले अग्रणी भूमिका खेल्यो । राजनीतिक चेतनासँगै औद्योगिक विकास विराटनगरको अर्को पहिचान हो । औद्योगिक विकास पूर्व नै विराटनगर धार्मिक सांस्कृतिक रुपमा सम्पन्न भने त्यसै छँदै थियो । विराटकालीन राजाको इतिहास र यहाँका मठमन्दिर त्यस्को ज्वलन्त उदाहारण हुन् ।

वि.सं. २०१९ सालअघि जिल्लाको स्पष्ट संरचना नभएकाले यो सम्पूर्ण भूभाग “मोरङ” का नामले चिनिन्थ्यो । पछि मोरङलाई विभिन्न प्रगन्नामा विभाजन गर्दै मोरङ र सुनसरी जिल्ला बनाइयो । मोरङको सदरमुकाम हरैंचा र रंगेली हुँदै अन्ततः वि.सं. १९७१ सालपछि विराटनगर सारियो । त्यसपछि भने विराटनगरले विकासको झन् गति समात्यो ।

विराटनगरको पहिचान केवल इतिहास र राजनीतिक आन्दोलनमा मात्र सीमित छैन । धार्मिक–सांस्कृतिक र पर्यटन विकासको दृष्टिले पनि यो शहर अत्यन्त महत्वपूर्ण मानिन्छ । यहाँ पाँच सय वर्षभन्दा पुराना मठमन्दिरहरू छन् । ऐतिहासिक बनस्खण्डी महादेव मन्दिर १५ औं शताब्दीमा सेनकालमै वनस्खण्डी बाबाले स्थापना गरेको विश्वास गरिन्छ । यो मन्दिर विराटनगरको सबैभन्दा पूरानो भएको पनि विश्वास गरिन्छ । बनस्खण्डी मन्दिरमा नित्यपूजा पाठसँगै तीजका बेला विशेष अर्चना गरिन्छ । त्यहाँ व्रतालुहरुको घुइँचो लाग्छ । श्रद्धाले ओतप्रोत भएका धार्मिक मनहरु बनस्खण्डीमा भेला भई विशेष पूजाअर्चना गर्ने गर्दछन् । यहाँको धार्मिक पर्यटन प्रवद्र्धन गर्न विराटनगर महानगरले समेत विभिन्न काम गर्दै आएको छ ।

विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विराटनगरका मठमन्दिरको स्तरोन्नति तथा संरचना निर्माणसमेत महानगरले काम गर्दै आएको बताउँछन् । यसकै निरन्तरता स्वरुप परोपकार घाटदेखि हनुमान मन्दिरमा आरती स्थलको अवधारणा अघि सारिएको बताउँछन् । उनले भने,‘‘भारतसँगै सीमा जोडिएकोले विराटनगरमा भारतका धार्मिक पर्यटक जुन रुपमा आईरहेका छन् । अझ धेरै बढाउन सकिन्छ ।’’

यसका अतिरिक्त कालीमन्दिर, विराटेश्वर शिवमन्दिर, सन्सारी माइस्थान, रामजानकी मन्दिर, सत्यनारायण मन्दिर र बगलामुखी मन्दिरले विराटनगरको धार्मिक महत्वलाई अझ उचाइ दिएका छन्। कालीमन्दिरमा वडा दशैंमा हर्क बडाई हुन्छ । नवरात्र भर माता दुर्गाका सबै अवतवारको पूजाअर्चन गरिन्छ । सप्तमीको दिन यहीँबाट रंगेलीसम्म निशानयात्रा शुभारम्भ गरिन्छ । हज्जारौं भक्तजन खालीखुट्टा जात्रामा सहभागी हुन्छन् । यसमा नेपाल–भारतका हज्जारौं भक्तजन लावालस्कर सहित पैदल यात्रा गरेर रंगेली कालीमन्दिरसम्म पुग्छन् । त्यसपछि यो जात्राको समापन हुन्छ । नवारात्री भर कालीमन्दिर क्षेत्रमा बिहानैदेखि भक्तजनको उपस्थिति हुनुका साथै राति मेला लाग्ने गर्दछ । मन्दिर विशेष बत्ती र उज्यालो प्रकाशले झकीझकाउ बनाइन्छ ।

रंगेलीका निर्वतमान मेयर दिलिप बगडियाले निशान जात्राले नेपाल र भारतका धार्मिक मनहरुलाई जोड्ने काम गरेको बताउँदै भन्छन्,‘‘एक पटकमा दश हजार तीर्थालु यात्रामा आउनु चानचुने कुरा होइन । यसको प्रचार अझ गर्न सके दशैं अवधिभर मात्र पनि हज्जारौंको संख्यामा भारतीय पर्यटक विराटनगर र रंगेली क्षेत्रमा ल्याउन सकिन्छ ।’’

विराटनगरको सांस्कृतिक पहिचानमध्ये सबैभन्दा चर्चित पक्ष हो—राधाकृष्ण मन्दिर र ऐतिहासिक रथयात्रा। वि.सं. १९८५ सालमा स्थापना भएको उक्त मन्दिरमा सोही वर्षदेखि रथयात्रा सुरु गरिएको हो। भाद्र कृष्ण अष्टमीको भोलिपल्ट निकालिने यो रथयात्रा विश्वकै ठूलो जात्रामध्ये एक मानिन्छ। यसमा लाखौं देशी–विदेशी भक्तजन सहभागी हुन्छन् ।

रथ यात्रा समितिका सल्लाहकार श्याम पौडेल विराटनगरको राधाकृष्ण रथयात्रालाई अन्तर्राष्ट्रिय रुपमा ब्रान्डिङ गर्न अझ धेरै काम गर्न सकिने सुझाव दिन्छन् । ‘‘यो दक्षिण एसियाकै ठूलोमध्येको एउटा यात्रा भएकोले यसको प्रचार रथयात्राका बेलामात्र नभएर अरुबेला पनि गरिनु पर्छ ।’’

सुरुका वर्षहरूमा देवप्रतिमालाई खटमा राखेर काँधमा बोकी नगर परिक्रमा गराइन्थ्यो। पछि वि.सं. २०२५ सालदेखि रथ निर्माण गरेर जात्रा सञ्चालन गर्न थालिएको हो। आज यो जात्राले विराटनगरका सबै जाति, भाषा र धर्मका समुदायलाई एउटै सांस्कृतिक सूत्रमा बाँध्ने काम गरिरहेको छ। राधाकृष्ण रथयात्रालाई विराटनगर महानगरपालिकाले अन्तर्राष्ट्रिय रुपमा ब्रान्डिङ गर्ने काम समेत गरिरहेको छ ।

विराटनगर महानगरपालिका वडा नम्बर २ का वडाध्यक्ष कुमार पोखरेलले अहिले विराटनगरमा धार्मिक पर्यटन विस्तारै बढ्दै गएको बताउँछन् ।

महानगरले पछिल्लो समय धामिर्क पर्यटन विकासका लागि मठमन्दिरको विकास, सम्वद्र्धन र पुर्ननिर्माणमा मात्र नभएर चर्च, गुम्बा र मस्जिदहरुमा समेत लगानी गरिरहेको छ । विराटनगरको चर्चित मस्जिदमा नवाजका लागि विदेशीबाट समेत मुस्लिम समुदायको सहभागिता हुने गर्दछ ।

शुक्रबारका दिन विराटनगरमा अवस्थित मस्जिदमा नवाज पढ्न र प्रार्थना गर्नेहरुको ठूलो उपस्थिति रहने गर्दछ । समग्रमा विराटनगरमा धार्मिक पर्यटनको गतिविधिले आर्थिक उपार्जनका साथै अन्यत्रका मानिसलाई यसबारे जानकारी दिलाउन मद्धत पुगेको पाइन्छ । महानगरले समेत यसका विविध प्रयास गरिरहेको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa