Premier Cables
Premier Steel

अन्तराष्ट्रिय

फिलिपिन्समा गएको भूकम्प कति शक्तिशाली, के-के भयो क्षति ?

Hamro Biratnagar News Channel Calendar सोमबार, जेठ २५, २०८३  | अपराह्न २:५० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । दक्षिणी फिलिपिन्समा सोमबार बिहान ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तीमा १९ जनाको मृत्यु भएको छ भने २०० भन्दा बढी घाइते भएका छन्। भूकम्पपछि करिब एक मिटर उचाइको सुनामीसमेत आएको अधिकारीहरूले जनाएका छन्।

स्थानीय समयअनुसार बिहान ७ः३७ बजे आएको भूकम्पको केन्द्रबिन्दु मिन्दानाओ टापुनजिक समुद्रमा रहेको बताइएको छ। फिलिपिन्सको ज्वालामुखी तथा भूकम्प विज्ञान संस्थानका अनुसार भूकम्प साराङ्गानी प्रान्तको मासिम नगरबाट करिब ३२ किलोमिटर दक्षिणपश्चिममा ३३ किलोमिटर गहिराइमा गएको थियो।

बिज्ञापन

भूकम्पका कारण जनरल सान्तोस सहरका केही भवनहरू भत्किएका छन् भने सडक, विमानस्थल तथा अन्य पूर्वाधारमा क्षति पुगेको छ। तटीय क्षेत्रमा सुनामीका छालाले केही बस्तीमा पनि असर पुर्‍याएको जनाइएको छ।

उद्धार अधिकारीहरूका अनुसार अधिकांश मृत्यु भवन भत्किँदा, पहिरो जाँदा र संरचनाबाट खसेका भग्नावशेषका कारण भएको हो। जनरल सान्तोसमा मात्रै सात जनाको मृत्यु भएको पुष्टि गरिएको छ। त्यहाँ एक विद्यालय भवन भत्किँदा केही विद्यार्थी हराइरहेको आशंका गरिएको छ।

प्रहरीले जनरल सान्तोस क्षेत्रमा कम्तीमा १२ जना बेपत्ता रहेको जनाएको छ। आगलागी नियन्त्रण तथा उद्धार टोलीहरू खोज तथा उद्धार कार्यमा परिचालित छन्।

भूकम्पपछि हजारौँ मानिस घर छाड्न बाध्य भएका छन्। विद्यालयहरू पुनः सञ्चालनमा आएको पहिलो दिन भएकाले बिहानको कार्यक्रममा सहभागी सयभन्दा बढी विद्यार्थी सामान्य घाइते भएका छन् भने केही विद्यार्थी त्रसित भएर बेहोस भएका थिए।

जनरल सान्तोस अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ भने १७ वटा आन्तरिक उडान रद्द भएका छन्।

भूकम्पपछि साराङ्गानी र सुल्तान कुदारात क्षेत्रमा करिब एक मिटर उचाइका सुनामीका छालाहरू मापन गरिएको थियो। इन्डोनेसिया, पलाउ र जापानसम्म पनि साना सुनामी छालाहरू पुगेका थिए। यद्यपि, केही घण्टापछि सुनामीको खतरा हटेको भन्दै चेतावनी फिर्ता लिइएको छ।

फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरले प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्य तत्काल अघि बढाउन निर्देशन दिएका छन्। उनले कक्षा सञ्चालन स्थगित गर्दै केन्द्र सरकार प्रभावित नागरिकको साथमा रहने बताएका छन्।

प्रशान्त महासागरको ‘रिङ अफ फायर’ क्षेत्रमा पर्ने फिलिपिन्समा भूकम्प र ज्वालामुखी विस्फोटका घटना बारम्बार हुने गर्छन्। यस वर्षको यो फिलिपिन्समा आएको सबैभन्दा शक्तिशाली भूकम्प मानिएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka