कलकत्ता । पश्चिम बंगालमा चुनावी नतिजा सार्वजनिक भएपछि हिंसा सुरू भएको छ। यसले फेरि एकपटक २०२१ को विधानसभा चुनावपछिको अवस्था दोहोरिएको देखिएको छ।
मतदान प्रक्रिया करिब शान्तिपूर्ण सम्पन्न भए पनि नतिजा आएलगत्तै राज्यका विभिन्न क्षेत्रमा हिंसात्मक घटना फैलिन थालेका छन्।
अन्तर्राष्ट्रिय समाचार संस्था बिबिसीका अनुसार हालसम्म कम्तिमा चार जनाको मृत्यु भएको र धेरै घाइते भएको खबर छ।
विभिन्न ठाउँमा तृणमूल कंग्रेस (टिएमसी) का कार्यालयमा तोडफोड, आगजनी तथा कार्यकर्ता र समर्थकका घरहरूमा आक्रमण भएको रिपोर्ट सार्वजनिक भइरहेका छन्।
स्थिति नियन्त्रणमा लिन मुख्य चुनाव आयुक्त ज्ञानेश कुमारले राज्यका उच्च सुरक्षा र प्रशासनिक अधिकारीहरूलाई हिंसामा संलग्न व्यक्तिहरूलाई तुरून्त पक्राउ गर्न निर्देशन दिएका छन्।
कोलकाता प्रहरी आयुक्त अजय नन्दले पनि हिंसामा संलग्न नहुन चेतावनी दिँदै विजय जुलुसमा बुलडोजर प्रयोग गर्न प्रतिबन्ध लगाइएको बताएका छन्।
हिंसाका घटनाहरू कोलकाता, आसनसोल लगायत विभिन्न क्षेत्रमा देखिएका छन्। केही स्थानमा टिएमसीका झन्डा हटाएर भारतीय जनता पार्टी (भाजपा) का झन्डा राखिएको र कार्यालयहरूमा रङ परिवर्तन गरिएको भिडिओ तथा तस्बिरहरू सार्वजनिक भएका छन्।
प्रहरीले हालसम्म विभिन्न जिल्लाबाट करिब ८० जनालाई पक्राउ गरेको जनाएको छ।
हिंसाका क्रममा दुवै पक्षले आफ्ना समर्थकको ज्यान गएको दाबी गरेका छन्। हावडा जिल्लामा एक भाजपा समर्थकको कुटपिटपछि मृत्यु भएको बताइएको छ भने कोलकाता नजिकै अर्का एक कार्यकर्ताको हत्या भएको दाबी गरिएको छ।
त्यसैगरी बीरभूम जिल्लामा टिएमसी समर्थकको हत्या भएको आरोप पनि आएको छ, जसलाई भाजपाले अस्वीकार गरेको छ।
स्थिति तनावपूर्ण बनेपछि सुरक्षा संयन्त्र सक्रिय बनाइएको छ। राज्यभर २४० वटा क्विक रेस्पोन्स टिम परिचालन गरिएको छ भने संयुक्त नियन्त्रण कक्षमार्फत प्रहरी र केन्द्रीय बलले निगरानी बढाएका छन्।
हिंसालाई लिएर राजनीतिक आरोप–प्रत्यारोप पनि तीव्र बनेका छन्। टिएमसी नेता अभिषेक बनर्जीले राज्यभर हिंसा फैलाएको आरोप भाजपामाथि लगाएका छन्।
उनका अनुसार सयौं पार्टी कार्यालयमा आक्रमण भएको र धेरै उम्मेदवारका घरहरू निशाना बनाइएका छन्।
यता भाजपाले भने आफ्ना कार्यकर्ता हिंसामा संलग्न नभएको दाबी गर्दै प्रशासनसँग कडाइका साथ कारबाही गर्न माग गरेको छ।
प्रदेश अध्यक्ष शमिक भट्टाचार्यले कार्यकर्तालाई संयम अपनाउन र शान्ति कायम राख्न आग्रह गरेका छन्।
त्यस्तै, विपक्षका नेता शुभेन्दु अधिकारीले पनि समर्थकलाई उक्साहटमा नपर्न र विजय उत्सव सीमित राख्न अपिल गरेका छन्।
