महोत्तरी । दीपावली सकिएसँगै मिथिला क्षेत्रमा छठ पर्वको रौनक छाएको छ । कात्तिक शुक्ल चतुर्थी अर्थात् शुक्रबारदेखि सुरु भएको चारदिने छठ पर्वको तयारीमा मिथिला क्षेत्रका गाउँबस्ती र बजार व्यस्त बनेका छन् ।
छठ पर्व नजिकिएसँगै घरघरमा छठका भक्तिगीत गुञ्जिन थालेका छन् । सूर्यदेव र षष्ठीदेवीको आराधना गरिने यस पर्वका लागि नदी, पोखरी तथा धार्मिक महत्वका जलाशयमा छठघाट निर्माण र सरसफाइको काम भइरहेको छ ।
विशेषगरी युवाहरू छठघाट सजावट र व्यवस्थापनमा सक्रिय देखिएका छन् । घरका भित्ता लिपपोत तथा रङरोगन गर्ने, सडक र सार्वजनिक स्थलमा झिलिमिली बत्ती जडान गर्ने काम पनि तीव्र बनेको छ ।
पर्वको तयारीसँगै बजारमा पनि चहलपहल बढेको छ । छठ पूजाका लागि आवश्यक पर्ने केरा, उखु, अदुवा, बेसार, ज्यामिरलगायत सामग्रीको खरिदबिक्री बढेको छ । त्यस्तै, बाँसबाट बनाइने ढकी, डलिया, कोनियाँ, नाङ्लो र माटाका भाँडाकुँडाको माग पनि बढेको छ ।
घरघरमा छठको प्रसाद बनाउने चटारोसमेत सुरु भएको छ । ठकुवा र भुसुवालगायत परिकार बनाउन गृहिणीहरू व्यस्त छन् । शुद्धता र पवित्रतालाई विशेष महत्त्व दिइने यस पर्वमा परिवारका सदस्य मिलेर प्रसाद तयार गर्ने परम्परा छ ।
मिथिलामा कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन छठ पर्व मनाइन्छ । पहिलो दिन नहाय–खाय, दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ्य र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरेपछि पर्व सम्पन्न हुन्छ ।
छठ पर्वमा जातीय तथा सामुदायिक विभेदभन्दा माथि उठेर सबै एकै ठाउँमा भेला भई सूर्यदेवको आराधना गर्ने परम्परा छ । आपसी सद्भाव, एकता र समानताको सन्देश दिने यस पर्वलाई मिथिला क्षेत्रमा विशेष श्रद्धा र निष्ठाका साथ मनाइन्छ ।
