Premier Cables
Premier Steel

विराटनगर

विराटनगरमा रात्रीकालीन व्यवसाय राति २ बजेसम्म खोल्न दिइने

Hamro Biratnagar News Channel Calendar शुक्रबार, कार्तिक २०, २०८३  | बिहान ९:५७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरमा होटल तथा अन्य रात्रीकालीन व्यवसाय सञ्चालनको समय बढाएर राति २ बजेसम्म पुर्‍याउने तयारी गरिएको छ। जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय र व्यवसायीबीचको सहमतिअनुसार मंसिर १ गतेदेखि नयाँ व्यवस्था लागू गर्ने तयारी अघि बढाइएको हो।

यसअघि जिल्ला प्रशासन कार्यालय मोरङले शान्ति सुरक्षाको कारण देखाउँदै होटल तथा अन्य व्यवसाय राति साढे १० बजेसम्म मात्रै सञ्चालन गर्न निर्देशन दिएको थियो। प्रशासनको निर्णयप्रति असन्तुष्टि जनाउँदै व्यवसायीले विरोध गरेका थिए। व्यवसाय सञ्चालनको समय घटाउँदा व्यापार, पर्यटन र विराटनगरको आर्थिक गतिविधिमा असर पर्ने भन्दै उनीहरूले समयसीमा बढाउन माग गरेका थिए।

विज्ञापन

व्यवसायीको माग र सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै प्रशासनले नयाँ मापदण्ड तयार पारेको स्रोतले जनाएको छ। प्रस्तावित व्यवस्थाअनुसार मापदण्ड पूरा गर्ने होटल, गीत–गजल, दोहोरी साँझलगायतका मनोरञ्जन व्यवसाय राति २ बजेसम्म सञ्चालन गर्न पाउनेछन्। त्यस्तै, किराना पसललाई राति १२ बजेसम्म खोल्न दिने तयारी छ।

नयाँ व्यवस्थाअनुसार व्यवसायीले प्रशासनले तोकेका सुरक्षा मापदण्ड अनिवार्य रूपमा पालना गर्नुपर्नेछ। व्यवसाय सञ्चालन हुने क्षेत्रमा सीसीटीभी जडान, महिला कर्मचारीलाई सुरक्षित रूपमा घरसम्म पुर्‍याउने व्यवस्था र गीत–गजल तथा दोहोरी साँझबाट निस्कने ध्वनि बाहिर नफैलिने प्रबन्ध गर्नुपर्नेछ।

त्यसैगरी मदिरा सेवन गरेका ग्राहकलाई सुरक्षित रूपमा घरसम्म पुर्‍याउने जिम्मेवारी पनि व्यवसायीले लिनुपर्ने प्रस्ताव गरिएको छ।

व्यवसायीको सहभागितामा तयार पारिएको मापदण्ड जिल्ला सुरक्षा समितिबाट निर्णय भएपछि कार्यान्वयनमा आउनेछ।

पछिल्लो समय विराटनगर स्वास्थ्य उपचारको प्रमुख केन्द्रका रूपमा विकास हुँदै गएको छ। कोशी प्रदेशका विभिन्न जिल्ला र भारतबाट समेत उपचारका लागि बिरामी तथा आफन्त आउने गरेका छन्। यस्तो अवस्थामा रातिको समयमा अस्पताल आउने र उपचारपछि होटलमा बस्नुपर्ने आगन्तुकलाई नयाँ व्यवस्थाले सहज हुने अपेक्षा गरिएको छ।

व्यवसायीहरूले पनि सुरक्षा मापदण्डको पूर्ण पालना गरेर व्यवसाय सञ्चालन गर्न तयार रहेको बताएका छन्। तर, प्रशासन र व्यवसायीबीच सहमतिमा बनेको व्यवस्था प्रमुख जिल्ला अधिकारी परिवर्तन हुँदैमा निष्क्रिय हुन नहुने उनीहरूको भनाइ छ।

प्रशासन र व्यवसायीबीच सहमतिमा तयार गरिएको मापदण्ड नेतृत्व परिवर्तनसँगै फेरिन नहुने एक व्यवसायीले बताए। जोसुकै प्रमुख जिल्ला अधिकारी आए पनि व्यवसाय सञ्चालनसम्बन्धी निर्णयको निरन्तरता हुनुपर्ने उनीहरूको माग छ।

नयाँ व्यवस्था लागू भए विराटनगरको होटल, रेस्टुरेन्ट तथा मनोरञ्जन क्षेत्रमा रात्रीकालीन आर्थिक गतिविधि विस्तार हुने अपेक्षा गरिएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka