भागलपुर । भागलपुर र नवगछिया जोड्ने विक्रमशिला सेतुको एउटा स्ल्याब खसेपछि पुलमा आवागमन पूर्ण रूपमा बन्द गरिएको छ ।
जानकारीअनुसार १३३ नम्बर पिलर नजिकै रहेको स्ल्याब राति करिब १ बजे खसेको हो । घटनापछि भागलपुर प्रशासनका उच्च अधिकारीहरू घटनास्थलमा पुगेका छन् ।
भागलपुरका जिल्ला प्रमुख (डीएम) नवल किशोर चौधरीका अनुसार यातायातलाई सुल्तानगञ्ज हुँदै वैकल्पिक मार्गबाट सञ्चालन गरिएको छ । स्ल्याब खस्नेबित्तिकै सूचना प्राप्त भएकाले ठूलो दुर्घटना हुन नपाएको उनले बताए ।
विक्रमशिला सेतु सन् २००१ मा तत्कालीन मुख्यमन्त्री राबडी देवीले उद्घाटन गरेकी थिइन् । करिब ४.७ किलोमिटर लामो यो पुल केही वर्षमै जर्जर बनेपछि सन् २०१६ देखि मर्मत भइरहेको थियो । अहिले पुनः ठूलो मर्मतको तयारी भइरहेकै बेला स्ल्याब खसेको बताइएको छ ।
घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रशासनले जनाएको छ ।
