काठमाडौं । भारतको बिहार राज्यमा गंगा नदीमा डुंगा पल्टिँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ६ जना घाइते भएका छन् भने तीन जनालाई सकुशल उद्धार गरिएको छ ।
भारतीय सञ्चारमाध्यम आजतकका अनुसार मंगलबार साँझ बिहारको राघोपुर विधानसभा क्षेत्रअन्तर्गत रामपुर श्यामचन्द गाउँनजिकै दुर्घटना भएको हो । डुंगामा २० जनाभन्दा बढी सवार रहेको बताइएको छ । मृतकमा अधिकांश बालबालिका रहेको प्रारम्भिक विवरणमा उल्लेख छ ।
डुंगामा सवार व्यक्तिहरू भोजमा सहभागी हुन जाने क्रममा दुर्घटना भएको बताइएको छ । नदीमा डुंगा पल्टिएपछि घटनास्थलमा स्थानीय प्रहरी तथा प्रशासनको टोली पुगेर उद्धार कार्य सञ्चालन गरेको थियो ।
दुर्घटनामा घाइते भएकाहरूको उपचार भइरहेको छ । घटनामा ज्यान गुमाउनेको संख्या बढ्न सक्ने सम्भावनाबारे भने कुनै आधिकारिक विवरण सार्वजनिक भएको छैन ।
डुंगा कसरी पल्टियो भन्ने विषयमा हालसम्म स्पष्ट जानकारी प्राप्त भएको छैन । घटनाबारे थप विवरण आउन बाँकी छ ।
_(स्रोत: आजतक)_
