फायल फोटो
विराटनगर । सरकारले घरटहरा भत्काउने अभियान अघि बढाएपछि ८ सयभन्दा बढी सुकुम्बासी परिवारले नाम दर्ता गराएका छन्। जिल्ला प्रशासन कार्यालय काठमाडौंका अनुसार हालसम्म दुई हजारभन्दा बढी घरटहरा भत्काइएका छन्, जसका कारण सयौँ नागरिक एकैपटक घरबारविहीन बनेका छन्।
सहायता आवश्यक पर्ने नागरिकलाई सरकारले प्राथमिक दर्ता केन्द्र रंगशालामा पुगेर नाम टिपाउन आग्रह गरेको छ। वास्तविक भूमिहीनको डिजिटल लगत संकलन गरी त्यसपछि व्यवस्थापन गर्ने नीति सरकारले लिएको छ।
हाल होल्डिङ सेन्टरमा राखिएका विस्थापितलाई भोजन, स्वास्थ्य सेवा, बालबालिकाको शिक्षा र मनोवैज्ञानिक परामर्शजस्ता आधारभूत सुविधा उपलब्ध गराइँदै आएको छ। कीर्तिपुर, ललितपुर, भक्तपुर, नगरकोट र काभ्रेलगायत स्थानमा विभिन्न होल्डिङ सेन्टर स्थापना गरी प्रभावितलाई राखिएको छ।
वाग्मती सभ्यता एकीकृत समितिका आयोजना निर्देशक मचाकाजी महर्जनका अनुसार, रंगशालास्थित प्राथमिक दर्ता केन्द्रमार्फत हालसम्म १ हजार ८८६ परिवारले नाम दर्ता गराइसकेका छन्।
तर होल्डिङ सेन्टरमा बसोबास गराइएका नागरिकको व्यवस्थापनमा सरकार कमजोर देखिएको गुनासो बढ्दो छ। त्यहाँ रहेका बालबालिका, महिला र वृद्धवृद्धा विभिन्न समस्यामा परेका छन् भने महिला र पुरुषलाई एउटै स्थानमा राखिएको छ।
यसैबीच, महानगर प्रहरी बलले होल्डिङ सेन्टरमा सञ्चारकर्मीलाई समाचार संकलन गर्नसमेत रोक लगाएको छ।
