विराटनगर । सिन्धुली घर भएका १९ वर्षीय सिवा सदा, अस्पतालले ‘बन्धक बनाएको’ भनिएको समाचार सार्वजनिक भएपछि अन्ततः डिस्चार्ज भएका छन्। उनी अहिले स्वास्थ्य अवस्थामा सुधार आएपछि घर फर्किने तयारीमा छन्।
बीस सेवन गरेपछि गम्भीर अवस्थामा पुगेका सदालाई परिवारले उपचारका लागि विराटनगर–४ स्थित विराट निदान अस्पताल एन्ड ट्रमा सेन्टर ल्याएका थिए। अवस्था जटिल बनेपछि उनलाई आईसियुमा राखेर उपचार गरिएको अस्पतालका सञ्चालक अजय यादवले जानकारी दिए।
अस्पतालका अनुसार उपचारका क्रममा ४७ हजार ६ सय रुपैयाँ अस्पताल शुल्क र ७६ हजार ५ सय ७६ रुपैयाँ फार्मेसी खर्च गरी कुल १ लाख २४ हजार १८६ रुपैयाँ बिल पुगेको थियो। तर बिरामीका आफन्त आर्थिक अभावका कारण “पैसाको जोहो गरेर फर्किने” भन्दै सम्पर्कविहीन बनेपछि समस्या उत्पन्न भएको यादवको भनाइ छ।
उनका अनुसार अस्पतालले यसअघि पनि छुट दिएर डिस्चार्ज गर्ने प्रस्ताव राखेको थियो, तर बिरामी पक्षबाट सम्पर्क नभएपछि ढिलाइ भएको हो। अन्ततः कुल बिलमध्ये २४ हजार १८६ रुपैयाँ छुट गरी बिरामीलाई डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ। साथै, अस्पतालले आफ्नै खर्चमा सिवा सदालाई उनकी श्रीमती कृतिका सदाको जिम्मा लगाएर घर पठाउने व्यवस्था मिलाएको जनाएको छ।
यसैबीच, “अस्पतालको बेडमा छोरा, आमा पैसा खोज्दै” शीर्षकमा विभिन्न सञ्चार माध्यममा समाचार प्रकाशित भएपछि घटनाले थप ध्यान तानेको थियो। त्यसपछि व्यवसायी अरुण चौधरीले बिरामीको बाँकी बिल भुक्तानी गरिदिएको जनाइएको छ।
हाल सिवा सदा स्वास्थ्य अवस्थामा सुधारसँगै घर फर्किने तयारीमा छन्। घटनाले स्वास्थ्य उपचार, आर्थिक अभाव र अस्पताल व्यवस्थापनबीचको सम्बन्धबारे पुनः बहस सिर्जना गरेको छ।
