काठमाडौं । नेपाल राष्ट्र बैंक ले बैंक तथा वित्तीय संस्थाहरूका लागि नयाँ कार्यालय समय र सार्वजनिक बिदासम्बन्धी व्यवस्था लागू गरेको छ। अब सबै बैंक तथा वित्तीय संस्थामा सातामा दुई दिन—शनिबार र आइतबार—सार्वजनिक बिदा हुने भएको छ।
मन्त्रिपरिषद्को चैत २२ गतेको निर्णयअनुसार इन्धन खपत घटाउने उद्देश्यले सातामा दुई दिन बिदा दिने व्यवस्था लागू गरिएको हो। यसअघि भने शनिबार मात्रै बिदा हुने व्यवस्था थियो।
राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलका अनुसार चैत २३ गतेदेखि लागू हुने गरी बैंक तथा वित्तीय संस्थाहरूमा यो निर्णय कार्यान्वयनमा ल्याइएको हो।
नयाँ व्यवस्थाअनुसार सोमबारदेखि शुक्रबारसम्म बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म कार्यालय समय तोकिएको छ। यस्तै, हिउँदे समय (कात्तिक १६ देखि माघ १५) मा भने कार्यालय समय बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म मात्र रहनेछ।
यो व्यवस्था राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ वर्गका सबै बैंक तथा वित्तीय संस्था, पूर्वाधार विकास बैंक तथा नेपाल क्लियरिङ हाउस लिमिटेडमा अनिवार्य रूपमा लागू हुने जनाइएको छ।
सरकारले हालका लागि कुनै निश्चित अवधि नतोकिएकाले अर्को निर्णय नभएसम्म यही व्यवस्था कायम रहने राष्ट्र बैंकले स्पष्ट पारेको छ।
