विराटनगर । विराटनगरमा राम नवमीको अवसर पारेर यस वर्ष पनि भव्य धार्मिक कार्यक्रमहरू आयोजना हुने भएका छन्।
विश्व हिन्दु परिषद नेपाल कोशी प्रदेश र युवा परिषद् विराटनगरले संयुक्त रूपमा पत्रकार सम्मेलन गर्दै आगामी कार्यक्रम तालिका सार्वजनिक गरेका हुन्।
आयोजकका अनुसार चैत्र १३ गते राम नवमीका दिन विराटनगरमा बृहत मोटरसाइकल र्याली निकालिनेछ। उक्त र्यली पञ्चमुखी हनुमान मन्दिरबाट सुरु भई नगरका विभिन्न भागको परिक्रमा गर्ने कार्यक्रम तय गरिएको छ।
हिन्दु धर्मप्रति आस्था र एकता अभिवृद्धि गर्ने उद्देश्यले प्रत्येक वर्षझैँ यस वर्ष पनि कार्यक्रमलाई व्यवस्थित र अनुशासित रूपमा सञ्चालन गरिने परिषद्ले जनाएको छ।
कोशी प्रदेश अध्यक्ष देवेन्द्र गुप्ताले विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि कार्यक्रमलाई भव्य र सभ्य रूपमा सम्पन्न गरिने विश्वास व्यक्त गरे। युवा परिषद् विराटनगरको समन्वयमा आयोजना हुने यस रयालीमा ठूलो संख्यामा भक्तजनहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।
यसैगरी, परिषद्ले चैत्र १९ गते हनुमान जन्मोत्सवको अवसरमा रथसहितको भव्य शोभायात्रा निकाल्ने कार्यक्रम पनि सार्वजनिक गरेको छ। उक्त शोभायात्रा पनि धार्मिक आस्था प्रदर्शन गर्ने प्रमुख आकर्षणका रूपमा रहने बताइएको छ।
कार्यक्रममा सहभागी हुने सबैलाई ट्राफिक नियमको पालना गर्न आयोजकले विशेष आग्रह गरेको छ। युवा परिषद्का संयोजक सन्दिप साहका अनुसार सुरक्षित र अनुशासित सहभागितामै कार्यक्रमको सफलताको आधार हुने भएकाले सबैले जिम्मेवारीपूर्वक सहभागी हुनुपर्नेछ।
आयोजकले सम्पूर्ण श्रद्धालु तथा सर्वसाधारणलाई ¥याली र शोभायात्रामा सहभागी भई कार्यक्रमलाई सफल बनाउन आग्रह गरेका छन्।
