काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले नीति निर्माणका लागि सुझाव संकलन प्रक्रिया सुरु गरेका छन् ।
आसन्न प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं–५ बाट कांग्रेसका उम्मेदवारसमेत रहेका पौडेलले सामाजिक सञ्जालमार्फत नागरिकहरूसँग सार्वजनिक रूपमा सुझाव मागेका हुन् ।
आगामी पाँच वर्षका लागि काठमाडौं–५ को नीति निर्माणमा नागरिकका अमूल्य सुझाव अपेक्षित रहेको उनले बताएका छन् । सबै नागरिकले सहभागिता जनाउन सक्ने गरी अनलाइन तथा भौतिक दुवै माध्यमबाट सुझाव संकलन गरिने उनको भनाइ छ ।
‘यस क्षेत्र र राष्ट्रको नीति निर्माणका लागि जनताले दिएको विश्वासकै आधारमा म प्रतिनिधिसभामा निर्वाचित भएको हुँ,’ पौडेलले भने, ‘आगामी कार्यकालमा नागरिकको चाहनाअनुसार अघि बढ्न सुझाव संकलन थालेको छु।’
महामन्त्री पौडेलले विभिन्न क्षेत्रका विज्ञ तथा विशेषज्ञहरूसँग भेटघाट गर्दै पनि सुझाव लिइरहेका छन् । विगतमा आफूले गरेका काम सार्वजनिक गर्दै प्राप्त सुझाव र विज्ञहरूको प्रतिक्रियाका आधारमा आगामी योजना सार्वजनिक गर्ने तयारी भइरहेको उनको सचिवालयले जनाएको छ ।
