विराटनगर । नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लक्षित गर्दै मोरङ क्षेत्र नं. ६ का ललन ठाकुरले केन्द्रीय महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।
ठाकुरले राष्ट्र निर्माणका लागि व्यक्ति मात्र नभई स्पष्ट विचार, नीति र दृष्टिकोण आवश्यक रहेको भन्दै आफूलाई मधेसी कोटाबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिका रूपमा विजयी गराउन पार्टीका क्रियाशील सदस्य तथा प्रतिनिधिहरूसँग आग्रह गरेका छन्।
‘राष्ट्र निर्माणका लागि व्यक्ति मात्रै होइन, विचार बलियो हुनुपर्छ’ भन्ने नारासहित प्रचारमा आएका ठाकुरले लोकतन्त्र, राष्ट्रियता, समाजवाद र पार्टीको संगठनात्मक सुदृढीकरणलाई प्राथमिकतामा राखेको बताएका छन्। उनको प्रचार सामग्रीमा ‘स्पष्ट विचारको लागि’ भन्ने सन्देशलाई समेत प्रमुखताका साथ प्रस्तुत गरिएको छ।
मोरङ क्षेत्र नं. ६ बाट मधेसी कोटातर्फ केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवारी दिएका ठाकुरले पार्टीभित्र विचार, नीति र सिद्धान्तमा आधारित राजनीतिक संस्कारलाई बलियो बनाउनुपर्नेमा जोड दिएका छन्।
उनले नेपाली कांग्रेसको लोकतान्त्रिक समाजवाद, राष्ट्रियता र जनउत्तरदायी राजनीतिलाई व्यवहारमा स्थापित गर्न आफूले भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
ठाकुरले महाधिवेशन प्रतिनिधिका रूपमा आफूलाई अवसर प्रदान गर्न आग्रह गर्दै पार्टीका क्रियाशील सदस्य, शुभेच्छुक तथा प्रतिनिधिहरूसँग सहयोग र समर्थनको अपेक्षा गरेका छन्।
