काठमाडौँ । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन शुरु भएको छ । यसअन्तर्गत प्रतिनिधिहरूको नाम दर्ता पनि भइरहेकाे छ ।
कार्यक्रमस्थल भृकुटीमण्डप मूल गेट सँगैका स्टलहरूबाट नामावली दर्ता सुरु भएको जिल्ला, क्षेत्र समन्वय समिति संयोजक युवराज पाण्डेले जानकारी जानकारी दिए ।

विशेष महाधिवेशनको उद्घाटन दिउँसो १ बजे हुनेछ । महाधिवेशनमा ६० प्रतिशत महाधिवेशन प्रतिनिधि सहभागी हुने दाबी गरिएको छ ।
उद्घाटनअघि काठमाडौँको सुन्धारा, रत्नपार्क, शङ्करदेव क्याम्पस, कमलपोखरी, कुपण्डोललगायत क्षेत्रमा नेता, कार्यकर्ता भेला भई र्यालीका साथ भृकुटीमण्डप पुगेका छन्प्र । विशेष महाधिवेशन जनपरिचालन तथा जुलुस परिचालन व्यवस्थापन समितिका संयोजक जगदीश्वरनरसिंह केसीका अनुसार महाधिवेशनमा उत्साह देख्न सकिन्छ ।

उद्घाटन सत्रका लागि भृकुटीमण्डपको खुला चौरमा ५० जना अतिथि अटाउनेगरी मञ्च निर्माण गरिएको छ । त्यसैगरी मञ्चको अगाडि खुला चौरमा भने छ हजारभन्दा बढी कुर्सीहरूको व्यवस्थापन गरिएको मञ्च व्यवस्थापन समितिका संयोजक गोविन्द पुडासैनीले जानकारी दिए ।

मञ्च वरिपरि कांग्रेसको झण्डा, गेट, ब्यानर तथा प्रचारप्रसारका सामग्री राखेर सजाइएको छ ।
