काठमाडौं । फागुन २१ गते हुने निर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवारका रूपमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहलाई अघि सार्ने सम्भावनाबारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र छलफल अघि बढेको छ।
वैकल्पिक शक्तिहरूबीच एकता वा कार्यगत सहकार्यको प्रयास गरिरहेको रास्वपाको आन्तरिक छलफलमा बालेन्द्र शाहलाई प्रधानमन्त्रीकै उम्मेदवारका रूपमा अघि बढाउन सकिने विषयमा संवाद भइरहेको रास्वपा नेता शिशिर खनालले बताए।
खनालका अनुसार चुनावमा सहभागी भएपछि सभापतिमा फर्किएका रवि लामिछाने स्वाभाविक उम्मेदवार भए पनि उहाँमाथि सहकारी ठगी र संगठित अपराधसम्बन्धी मुद्दा चलिरहेका कारण वैकल्पिक पात्रबारे छलफल गर्नुपरेको हो। विकल्पका रूपमा उज्यालो नेपाल पार्टीको नेतृत्व गरिरहेका मन्त्री कुलमान घिसिङको नाममा पनि छलफल भएको भए पनि अहिले त्यो सम्भावना कमजोर बन्दै गएको उनले बताए।
कान्तिपुर टेलिभिजनको सोमबार राति प्रसारण हुने कार्यक्रम ‘फायरसाइड’ मा कुराकानी गर्दै खनालले राष्ट्रिय स्वतन्त्र पार्टीभित्र रहेर प्रधानमन्त्रीका रूपमा देशलाई निकास दिन सक्ने अन्य व्यक्तिहरूबारे सोच्नुपर्ने बाध्यता रहेको बताए। सोही सन्दर्भमा कुलमान घिसिङ र काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह दुवै सम्भावित पात्र हुन सक्ने उनले भने।
खनालले सभापति लामिछाने नै पहिलो प्राथमिकता भए पनि कानुनी अड्चनका कारण अन्य विकल्पमा छलफल गर्नुपर्ने अवस्था आएको स्पष्ट पारे। हाल बालेन्द्र शाह पक्षसँग संवाद भइरहेको जानकारी दिँदै उनले सकेसम्म लचक भएर पार्टीको नाम, नीति, नेतृत्व र चुनाव चिन्हमै सबैलाई समेट्ने प्रयास भइरहेको बताए। कुलमान घिसिङसँग केही साताअघिसम्म भएको छलफल सकारात्मक निष्कर्षमा नपुगेपछि अर्को विकल्पका रूपमा बालेन्द्रसँग वार्ता अघि बढाइएको उनले उल्लेख गरे।
उनका अनुसार पार्टीको नेतृत्व सभापति लामिछानेकै रहने, पार्टीको नाम, नीति र चुनाव चिन्ह साबिककै राखेर सहमति जुटाउने प्रयासमा संवाद भइरहेको छ। सबै सर्तमा सहमति नभए पनि चुनावी सहकार्यको विकल्प खुला रहेको खनालले बताए।
खनालसँग गरिएको पूरा अन्तर्वार्ता सोमबार राति ९ बजे कान्तिपुर टेलिभिजनको कार्यक्रम ‘फायरसाइड’ मा प्रसारण भएको छ ।
