Premier Cables
Premier Steel

समाचार

विराटनगरका अदालतमा आगजनीः १ लाख ९ हजार मिसिल ध्वस्त, न्यायिक कार्य कसरी शुरु हुन्छ ?

Calendar आइतबार, आश्विन ०५, २०८२  | बिहान १०:१४ बजे

विराटनगर । अराजक समूहले भदौ २४ गते मोरङस्थित जिल्ला अदालत र उच्च अदालत विराटनगरमा गरेको आगजनी र तोडफोडले न्याय प्रणालीमा गम्भीर क्षति पुर्‍याएको छ। विराटनगरमा अवस्थित मोरङ जिल्ला अदालतमा रहेका मध्ये १ लाख ४५ हजार र उच्च अदालत विराटनगरका ६४ हजार मिसिल आगजनीबाट जलेर ध्वस्त भएका छन् ।

आगजनीबाट मोरङ जिल्ला अदालतको अभिलेख शाखामा रहेका करिब १ लाख ५० हजारमध्ये १ लाख ४५ हजार मिसिल पूर्णरूपमा जलेर नष्ट भएका छन्।

बिज्ञापन

जिल्ला अदालत मोरङका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार, करिब ६ दशक पुरानो अभिलेख शाखामा राजस्व, सवारीसाधन, पुराना फैसला र प्रमाणपत्रहरू समेत समावेश थिए। अब करिब ४ हजारदेखि ४ हजार ५ सय मिसिल मात्र जोगिएको छ। जोगिएका मध्ये करिब २ हजार ५ सय मुद्दा हाल विचाराधीन अवस्थामा छन्।

आगजनीका कारण अदालतको नियमित कामकाजमा व्यापक असर परेको जानकारी दिँदै बुढाथोकीले भने, “मिसिल जलेपछि मुद्दा प्रक्रियामा जान गाह्रो भएको छ।”

अदालत परिसरमा रहेका ६२ वटा निजी मोटरसाइकल र स्कुटर, ५९ वटा मुद्दाका प्रमाणस्वरूप राखिएका मोटरसाइकल, न्यायाधीशका ७ वटा गाडी तथा अदालतका ३ वटा चारपांग्रे सवारीसाधन समेत पूर्ण रूपमा जलेका छन्। यसले अदालतको भौतिक संरचना र न्यायिक इतिहासमा ठूलो क्षति पुर्‍याएको छ।

त्यस्तै, उच्च अदालत विराटनगरमा पनि इजलास र विशेष अभियान फाँटमा रहेका करिब ६५ हजार मिसिलमध्ये केवल १ हजार मिसिल मात्र सुरक्षित रहेका छन्। रजिष्ट्रार जगदीशप्रसाद भट्टका अनुसार, विशेष अभियान फाँटमा रहेका ५४७ वटा मिसिल मात्र जोगिएको छ। तर, २०८३ असारसम्म २ वर्षभन्दा पुराना मुद्दाहरूलाई प्राथमिकताका साथ संकलन गरिएको अभियान फाँटका मिसिलहरू भने सुरक्षित छन्।

उच्च अदालतको ११ वटा सरकारी गाडी, २ वटा निजी गाडी र थुप्रै मोटरसाइकलसमेत आगलागीमा जलेका छन्। आगजनीले मुद्दाका प्रमाणहरू, प्रतिवादी तथा पीडितका बयान, न्यायिक आदेशका प्रतिलिपि लगायतका महत्वपूर्ण अभिलेख नष्ट भएका छन्, जसका कारण न्याय सम्पादन र पीडितको न्यायिक पहुँचमा गम्भीर असर परेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka